हेटौँडामा गाडीको ठक्करबाट एक महिलाको मृत्यु

मकवानपुर । पूर्व–पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१च ६९४३ नंको गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो । उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । महिलाको शव हाल हेटौँडा अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  १० : २१ बजे