मुलुकको आर्थिक अवस्था अहिले अत्यन्त गम्भीर : विष्णु पौडेल

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपालमा मानवअधिकार आन्दोलनका वास्तविक नायक मार्क्सवादी भएका बताउनुभएको छ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)ले आज काठमाडौंमा आयोजना गरेको मानवअधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका पौडेलले मानवअधिकारको विषय कम्युनिष्टको विषय होइन भन्ने प्राचीन मान्यतालाई नेकपा एमालेले तोड्न सफल भएको बताउनुभयो ।

एमाले मानवअधिकारको वास्तविक पहरेदार भएको पौडेलले दाबी गर्नुभयो। मानव अधिकारको अभियानमा एमाले सदैव साथमा रहेको उहाँले प्रष्ट पार्नुभयो ।  

नेता पौडेलले मुलुकको आर्थिक अवस्था अहिले अत्यन्त गम्भीर भएको बताउनुभयो । बैँकले लगानी गर्न नसकेको र ऋणीले सावाँ ब्याज तिर्न नसकेको पौडेलले सुनाउनुभयो ।

नेकपा एमालेले विषम परिस्थितिमा सरकार चलाउँदा पनि अर्थतन्त्रलाई बिग्रिन नदिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोभिड महामारीको बिचमा पनि हामीले हाम्रो अर्थतन्त्रलाई सम्हाल्ने प्रयत्न गर्‍यौँ ।’

देशको आयात, निर्यात दुवै घटेको उहाँले बताउनुभयो । विप्रेषण, विदेशी मुद्राको सञ्चितिमा केही सुधार भए पनि अर्थतन्त्रका सबै सूचक चिन्ताजनक भएका उहाँले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक छैनन्, नकारात्मक होइनन् भयङ्कर नकारात्मक छन् ।’

एमाले उपाध्यक्ष पौडेलले देशको राजश्व संकलन अति न्यून भएको बताउनुभयो । सरकारी कर्मचारीलाई तलब दिन पनि आन्तरिक ऋण उठाउनु पर्ने अवस्था आएको उहाँले जानकारी दिनुभयो।

मुलुकको अर्थतन्त्र समस्याको डिलमा पुग्दा पनि सरकारले कुनै ध्यान नदिएको पौडेलले बताउनुभयो । अहिले सरकार कानमा तेल हालेर बसेको भन्दै पौडेलले आलोचना गर्नुभयो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : ५४ बजे