निवर्तमान राष्ट्रपति भण्डारी तत्काल निजी निवास नजाने, बालुवाटारमा बस्नुहुने

काठमाडौँ । आफ्नो दोस्रो कार्यकाल सकिएर बिदा हुनुभएकी निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी तत्काल आफ्नो निजी निवास नजाने हुनुभएको छ । 

बुढानीलकण्ठमा घर मर्मतको काम नसकिएकाले भण्डारी तत्कालका लागि आफ्नी छोरी उषा किरणसँग बालुवाटारमा बस्न लाग्नुभएको हो  ।

''घर मर्मत सम्भारको काम सक्न थप १५/२० दिन लाग्न सक्छ, तब सम्मका लागि उहाँ आफ्नी जेठी छोरी उषा किरणसँगै बस्नु हुनेछ'', निवर्तमान राष्ट्रपतिको पारिवारिक स्रोतले बतायो ।

भण्डारीको पाँच वर्षे कार्यकाल आइतबार रातिबाट सकिएको छ। 

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलो पटक निर्वाचित हुनुभएको थियो । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उहाँ निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ७ : ३० बजे