नेपाल  ज्ञानभूमि हो, त्यसलाई लुकाउन खोजियो : अध्यक्ष ओली 

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको टिप्पणी गर्नुभएको छ।

शनिबार नेक्सस इन्टरनेशनल एकेडेमीको भवन शिलान्यास कार्यक्रममा उहाँले नेपाली भूमिबाट नै विभिन्न ज्ञानको उत्पत्ति भए पनि त्यसलाई लुकाउन खोजिएको बताउनु भयो । ओलीले नेपालीहरु बहादुरमात्रै नभइ बुद्धिमानी पनि रहेको भन्दै नेपालका पुर्खाहरु जति विद्वान अन्यत्र कतै नरहेको दाबी गर्नुभयो ।

‘नेपालीहरुलाई बहादुर मात्रै भनिएको छ, तर बहादुर मात्रै होइन, नेपालीहरु विद्वान पनि छन्। हाम्रा पुर्खाजस्ता विद्वान कोही छैनन्। वेदव्यास तनहुँका थिए, ऋषि विश्वामित्र शिवभन्दा पछाडि दर्शनशास्त्रका प्रणेता विश्वामित्र कोशी किनारमा बस्थे। कपिलमुनी कपिलवस्तुका थिए, उनी सांख्य दर्शन र शिवयोगका अध्येता थिए’ उहाँले भन्नुभयो ।

ओलीले अगाडि भन्नुभयो, ‘२६ सय वर्षअघि बुद्ध रुपन्देहीमा थिए। पाणिनी अर्घखाँचीका थिए। यस्ता अनेक विद्वान यहाँका छन् तर छोप्न खोजिएको छ। यो इतिहासमा पनि विद्वानहरुको भूमि हो। भविष्यमा पनि विद्वानहरुको भूमि हुनेछ।’
उहाँले नेपाल इतिहासमा पनि विद्वानहरुको भूमि भएको र भविष्यमा पनि विद्वानहरुको भूमि हुने बताउनुभयो । नेपाल ज्ञानको उत्पत्ति विन्दु भएपनि पाश्चात्य शिक्षाको प्रभावले ओझेलमा पारिएको उहाँले बताउनुभयो । 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ६ : ०१ बजे