दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हरायो

काठमाडौं । ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको ४ विकेट प्रेरित आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी(पीएनजी) विरुद्ध ५२ रनको कीर्तिमानी जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको विशाल लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरमा अलआउट हुँदै २४५ रनमा सीमित भयो ।

जितसँगै नेपालले ३३ खेलमा १६ जित र १५ हारको नतिजासहित ३४ अंक जोडेको छ । शिर्ष तीनमा रहेर सोझै विश्वकप छनोट खेल्न नेपालले बाँकी तीनै खेलमा जित निकाल्नु पर्नेछ । भने, एकदिवसीय मान्यता जोगाउन अब एक खेल जिते पर्याप्त हुनेछ ।

पीएनजीका लागि आठौं नम्बरमा क्रिजमा आएका नोर्मान भानुवाले ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६० रन बनाए । ओपनर टोनी उराले ४४ बलमा ९ चौका प्रहार गर्दै ५० रन योगदान गरे । कप्तान आसाद भालाले कुशल मल्लको बलमा क्याचआउट हुनुअघि ५३ बलमा समान २ चौका र छक्काको मद्दतमा ४२ रन जोडे । किप्लिन डोरिगा २६ रन बनाएर आउट हुँदा, चाल्र्स अमिनी १४ रन र रिले हिकुरे २० रन बनाएर पभेलियन फर्किएका थिए ।

नेपालको बलिङमा सन्दीप लामिछानेले १० ओभरमा एक मेडन राख्दै ३७ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९.१ ओभरमा ३७ रन खर्चिए दुई विकेट लिँदा कुशल मल्ले एक विकेट लिए ।

यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ५ बल बाँकी रहँदा अलआउट हुँदै २९७ रनको योगफल तयार पार्यो । जुन नेपालले एकदिवसीय क्रिकेटमा हालसम्म बनाएको सबैभन्दा ठूलो योगफल हो । यसअघि, अघिल्लो महिना त्रिवि मैदानमै नामिबियाले दिएको २८५ रनको लक्ष्य चेज गर्ने क्रममा नेपालले २८७ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ११० रनको शतकीय इनिङ खेले । उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ११० रनको साझेदारि गर्दै ११० बलमा १२ चौका र २ छक्का प्रहार गरे । आसिफले पाँचौं विकेटका लागि कप्तान रोहित पौडेलसँग शतकीय साझेदारि गरेका थिए । जारी खेलमा शतक बनाएसँगै आसिफ ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउने र हजार रन पुरा गर्ने दोस्रो खेलाडी बने ।

कुशल ५६ बलमा ६ चौकासहित ४५ रनमा आउट हुँदा रोहित ३९ बल खेल्दै २ चौका र एक छक्काको मद्दतमा ३० रन बनाएर पभेलियन फर्किएका थिए ।

ज्ञानेन्द्र मल्ले ११ रन योगदान गर्दा पछिल्लो समय लयमा रहेका कुशल मल्ल २ रनमा आउट भए । भिम शार्कीले ३८ बलमा ४ चौका प्रहार गर्दै ४४ रन बनाएर क्याच आउ आरिफ शेख १५ रनमा पभेलियन फर्किए ।

पीएनजीको बलिङमा सिमो कामीयाले ९.१ ओभरमा ३८ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए । रिले हिकुरेले १० ओभरमा ५० रन खर्चिएर तीन विकेट लिदाँ एली नाओले १० ओभरमा पीएनजीका लागि सर्वाधिक ७५ रन खर्चिएर एक विकेट लिए ।
लिग २ तालिकाको शिर्ष तीनमा रहेर सोझै विश्वकप छनोटमा स्थान बनाउन यो शृंखला क्लिनस्विप गर्नुपर्ने दवाव छ ।

एक खेल मात्रै पराजित भए नेपाललाई विश्वकप छनोटमा सोझै स्थान बनाउन सहज हुने छैन । एकदिवसीय मान्यता जोगाउन नेपालले दुई खेल मात्रै जिते पर्याप्त हुनेछ । शृंखलाको दोस्रो खेल नेपालले आइतबार यूएईसँग खेल्नेछ । पीएनजीले शुक्रबार यूएईसँग खेल्नेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ४ : ४५ बजे