अमेरिकाबाट आएको पार्सलमा सात किलो गाँजा, भारतीय पक्राउ

काठमाडौँ – अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ । 

    प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलको सूक्ष्म निगरानी गर्दा उक्त तथ्य फेला पारेको हो । 

    पछिल्ला दुई छुट्टाछुट्टै पार्सल जाँच गर्दा एउटामा चार दशमलव पाँच किलो र अर्काेमा दुई दशमलव चार किलो गाँजा फेला परेको ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । उक्त घटनामा एक भारतीयसहित तीन जनालाई पक्राउ गरिएको छ । 

    अमेरिकाबाट दुबई हुँदै नेपाल ल्याइएको चकलेट र बालबालिकाको खेलकुद सामग्री उल्लेख गरिएको पार्सलबाट चार दशमलव पाँच किलो गाँजा बरामद भएपछि उक्त पार्सल लिन आएका भारतको गुजरातका ३० वर्षीय निमेश अशोकभाइ र सर्लाहीको हरिहरपुरका २८ वर्षीय फैज आलम पक्राउ परेका हुन् ।

    उनीहरूको साथबाट भारतीय अधार कार्ड र रु ८० हजार बरामद गरिएको छ । उनीहरू बस्दै आएको ठमेलको होटल खानतलासी गर्दा कोठामा एक लाख ४० हजार भारु बरामद गरिएको  जोशीले जानकारी दिनुभयो । 

    यस्तै अर्काे घटनामा विमानस्थलमा यसैगरी अमेरिकाबाट आएको पार्सल जाँच गर्दा दुई दशमलव चार किलो गाँजा बरामद गरिएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा गोरखाका रुपक अर्याललाई पनि पक्राउ गरिएको उहाँले बताउनुभयो । 
    
    उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जोशीले बताउनुभयो । यसरी आएको गाँजा कसले कहाँ लैजान लागेका हुन् भन्ने अझै नखुलेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ७ : ४९ बजे