दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अमेरिकाबाट पठाइएको पार्सलमा ७ केजी गाँजा

काठमाडौँ — अमेरिकाबाट पठाइएको छुट्टाछुट्टै पार्सल (हुलाकमार्फत पठाइएका सामान)मा करिब ७ किलो लागूऔषध गाँजा फेला परेको छ । लागूऔषध नियन्त्रण ब्युरोले हवाइमार्ग हुँदै विदेशी मुलुकबाट त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलहरुको निगरानी तथा जाँच गर्ने क्रममा अमेरिकाबाट दुबई हुँदै नेपाल आएको पार्सलहरुबाट गाँजा फेला पारेको हो ।

प्रहरीले पार्सल लिन आएका ३ जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए । प्रहरीले ६६ दशमलव ९ किलो गाँजा बरामद गरेको हाे ।

ब्युरोले फागुन २१ (आइतबार)मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा अमेरिका क्यालिफोर्नियाको लस एन्जलसबाट दुबई हुँदै ‘चक्लेट एण्ड चाइल्ड गेम आइटम’ उल्लेख गरिएको पार्सल शंकास्पद देखिएकाले जाँचका क्रममा गाँजा भेटिएको जनाएको छ ।

‘चक्लेट’को बट्टाभित्र ४ दशमलब ५ किलो गाँजा बरामद भएको र उक्त पार्सल लिन आएका भारत गुजरातका ३० वर्षीय निमेश अशोक भाइ दायानी र सर्लाही हरिहरपुर नगरपालिका–३ का २८ वर्षीय फैज आलमलाई पक्राउ गरिएकाे प्रहरीकाे भनाइ छ । 

यस्तै, सोही दिन क्यालिफोर्नियाबाटै अर्को पार्सल पनि आएको थियो । ‘होम डेकोर वाटर एन्डचाइल्ड गेम आइटम’ उल्लेख गरिएको पार्सल जाँच गर्दा थप गाँजा बरामद भएको ब्युरोले जनाएको छ । पार्सलबाट भने २ दशमलव ४ किलो गाँजा बरामद भएको हो ।

पार्सल लिन आएका गोरखागण्डकी गाउँपालिका–४ का २३ वर्षीय रूपक अर्याललाई काठमाडौं नागार्जुन–१ खरीबोटबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिहरूलाई पनि पार्सल ‘रिसिभ’ गर्नेमात्रै जिम्मा दिएको पाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ६ : २० बजे