धरहराबाट उपत्यका नियाल्ने रहर

मार्फामा बढ्दै पर्यटक

डोटीका ३२ विद्यालयलाई वाइफाइ डिभाइस

डोटी । डोटीको बडीकेदार गाउँपालिकाले ३२ वटा सामुदायिक आधारभूत विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट सेवाका लागि वाइफाइ डिभाइस वितरण गरेको छ । 

पालिकाले सङ्घीय सरकारसँग गरेको सम्झौताअनुसार दूरसञ्चार प्राधिकरणको सहयोगमा फोरजी सेवा चल्ने सिमकार्डसहितको वाइफाइ डिभाइस वितरण गरेको हो । शिक्षामा नयाँ प्रविधिको प्रयोग गरी शिक्षण कार्यलाई थप प्रभावकारी बनाउन सहजता होस् भन्ने उद्देश्यले वाइफाइ डिभाइस वितरण गरिएको बडीकेदार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिबेक देउवाले बताउनुभयो । 

उहाँले विद्यालयमा इन्टरनेट सेवा जडान हुँदा पढाइका साथै विद्यार्थीलाई नयाँ विषय वस्तुको बारेमा जानकारी गराउन थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । बडीकेदार गाउँपािलकाअन्तर्गत ३२ वटा आधारभूत र नौ वटा माध्यमिक विद्यालय गरी ४१ वटा विद्यालय छन् । 

पालिकाअन्तर्गत रहेका माध्यमिक विद्यालयमा इन्टरनेट सेवा पहिले नै जडान भइसकेको छ । पालिकाले यसअघि २२ वटा विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी सिर्जना गरी शिक्षकको व्यवस्थापन गरिसकेको छ । 

विद्यालयलाई सिमसहितको उपलब्ध गराएको डिभाइसमा इन्टरनेट सञ्चालन गर्नका लागि दुई वर्षसम्म आवश्यक शुल्क दूरसञ्चार प्राधिकरण बेहोर्ने र त्यसपछि विद्यालयले व्यवस्थापन बेहार्नेछ । विद्यालयलाई उपलब्ध गराएको एउटा डिभाइसको मूल्य रु ७३ हजार नौ सय रहेको छ । 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ११ : २३ बजे