मौसम : आज यी प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने 

काठमाडौँ  ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।   

कोसी प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च  पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले मधेस प्रदेशका र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

उता, राती भने कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ७ : ३१ बजे