इङवा हाइड्रोपावरको आइपिओ निष्कासन

काठमाडौँ । इङवा हाइड्रोपावरको आइपिओ आजदेखि बिक्री खुला भएको छ । 

कम्पनीले दुई चरण गरेर आइपिओ निष्कासन गरेको हो । पहिलो चरणमा हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि आफ्नो जारी पुँजीको ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा ६ लाख कित्ता सेयर निष्कासन गरेको हो ।

स्थानीय बासिन्दाले नेपाल एसबिआई बैङ्क, सिद्धार्थ बैङ्क, लक्ष्मी बैङ्क, सिभिल बैङ्क, सप्तकोशी विकास बैङ्कका तोकिएका तोकेको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने १२ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ ।

उक्त आइपिओ आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङको सिदिङ्गवा गाउँपालिका वडा नं ३ र पाँचथर जिल्लाको यङपरक गाउँपालिकाको वडा नं २ स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो । 

यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितो पत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् ।

यता वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ५ गतेसम्म आवेदन दिनुपर्नेछ  । रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आईपीओमा नेपाल एसबिआई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १० : ३३ बजे