नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा आउने 

चितवन । नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नुपरेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अवरुद्ध हुँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डमा आजदेखि नियमित सवारी साधना आवतजावत हुने भएको हो ।

मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पुल बनाउने र सडक मर्मत कार्य सम्पन्न भएकाले आजदेखि नियमित रूपमा सडक सञ्चालन हुनेछ।

पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको थियो भने अरू ठाउँको पहाड काट्ने काम लगभग सकिएको र तुइन खोलाको एकातर्फ विस्फोट गराउनुपर्ने बाहेक अन्य काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।  ‘विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुनसक्छ तर सवारी आवतजावतमा अब समस्या छैन निर्बाध रूपमा चल्न सक्नेछन्’ उहाँले भन्नुभयो ।

गत पुस ५ गतेदेखि  बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक चार घण्टा बाटो बन्द हुँदै आएको थियो ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ७ : ०६ बजे