नबल केमी राई खोज्दै रविन कोइराला 

विराटनगर । बाथ रोगले थलिनुभएको छ उहाँ । तर हरेक दिन उहाँ घाँस काट्नुहुन्छ ।, गाईको भकारो सोहोर्नुहुन्छ र धन्दा पात गर्नुहुन्छ । उहाँ अर्थात् नबल केमी राई ।

उहाँ २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा इलामबाट निर्वाचित जनपक्षीय सांसद हुनुहुन्छ ।

त्यो बेला निर्दलको विपक्षमा बोल्न गाह्रो थियो । यही गाह्रोको बिचमा पनि उहाँले पञ्चहरूलाई हराउनुभयो । उहाँ जनपक्षीय उम्मेदवारको रूपमा उठ्दै विजयी हुनुभयो । त्यो निर्वाचनमा राष्ट्रिय पञ्चायत सदस्य जित्ने ५ जना मात्रै जनपक्षीय उम्मेदवार हुनुहुन्थ्यो ।  पद्मरत्न तुलाधार, द्रोण प्रसाद आचार्य जागृत प्रसाद भेटवाल र सोमनाथ प्यासी अधिकारीसँगै नवलकेमी राईले पनि चुनाव जित्नुभएको थियो । 

जनपक्षीय उम्मेदवारको रूपमा त्यो बेला रापस जित्नुभएका अन्य नेताहरू बहुदलपछि देशका विभिन्न ओहोदामा पुग्नुभयो । भरखरै मात्रै सोमनाथ प्यासी अधिकारी तत्कालीन प्रदेश नम्बर १ को प्रदेश प्रमुख हुनुभयो । 

तर राष्ट्रिय पञ्चायतमा जनताको पक्षमा वकालत गर्ने नबल भने बहुदलपछि भने गुमनाम हुनुहुन्छ । २०४५ सालदेखि नै बाथ रोगले थलिनुभएका राईलाई एमालेले सुरु गरेको ग्रास रुट अभियान अन्तरगत खोजी अभियान थालेको छ । 

उहाँ इलामको चुलाचुली गाउँपालिका साक्फारमा बस्नुहुन्छ । ग्रासरुट अभियान चुलाचुली गाउँपालिकाका संयोजक तथा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले पार्टीलाई योगदान गरेकाहरूको खोजी अभियानमा पार्टी लागेको बताउनुभयो ।

उहाँले चुलाचुलीको साक्फारामा रहेका नबल केमी गुमनाम भएकाले पार्टी उहाँको अवस्था बुझ्न जान लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो, उहाँको योगदान र उच्च छ । उहाँको मूल्याङ्कनलाई सम्मान गर्दै पुन पार्टीमा सक्रिय बन्न अनुरोध गर्न जान लागिएको हो । 

वि. सं. २००५ सालमा साक्फाराको दशमी बजारमा जन्मिनुभएका उहाँ साक्षर मात्रै हुनुहुन्छ । उहाँले पञ्चायती व्यवस्थाको अन्त्य गर्ने उद्देश्यले जनपक्ष मञ्च मालेबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ७ : ३१ बजे