गरिबलाई मारेर लघुवित्त मोटाउन थालेको भन्दै ऋणीहरू आन्दोलनमा

काठमाडौँ । बारामा लघुवित्त संस्थाबाट पीडित भएकाहरूले लघुवित्त संस्थाको ज्यादती विरुद्ध सङ्गठित हुन थालेका छन् ।

लघुवित्तको चर्को व्याजका कारण घरबार नै बिग्रन थालेपछि बाराका विभिन्न स्थानका पीडितहरू लघुवित्त संस्थाको विरुद्धमा नाराबाजी समेत गर्न थालेका हुन । 

बारामा एकै त्यतिलाई समूह बनाएर १५ वटासम्म लघुवित्तले लगानी गरेका कारण पैसा तिर्न नसकेपछि घर मै आएर धाकधम्की दिन थालेपछि पीडितहरू सङ्गठित बाध्य भएर लघुवित्त संस्था खारेज गर ऋणी मार्ने काम बन्द गर जस्ता नारा लगाएर विरुद्ध प्रदर्शनमा जम्मा हुन थालेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा न २ सिमराकी कमला पौडेलले अहिलेसम्म ९ वटा लघुवित्त संस्थाबाट ऋण लिनुभएको छ। उहाँले आफूले १ लाखको ऋण लिँदा लघुवित्त संस्थाले ५ लाखसम्मको ऋण भएको र ब्याजसहित ५ लाखसम्म ऋण लिने गरेको बताउनुभएको छ । आफूले पटक पटक किस्ता तिरे पनि सवा रकम कहिले पनि नघट्ने गरेको उहाँ बताउनुहुन्छ ।

समूह र बचतअनुसार लघुवित्तले १ देखि ५ लाखसम्म ऋण दिने गर्छ । १ लाख ऋणमा बीमा, आपत्कालीन र सेवा शुल्क गरेर १० हजार काट्छन् । ऋणीको रकम हातमा ९० हजार पुग्छ । अर्का लघुवित्तबाट पीडित बन्नुभएकी जीतपुरका राम कोशिला देवीले रुँदै भन्नुभयो, मेरो छोराले जति कमाएर लिएको ऋण तिरे पनि बैङ्कले आएर घरमा रहेको गाडी लिएर गएपछि आफ्नो दैनिकी गुजारा गर्ने पनि समस्या भएको र आफ्नो छोरा डरले सधैँ राति मात्रै घर आउने गरेको दुखेसो पोख्नुभयो । 

बारामा लघुवित्तबाट लिएको ऋणको साँवा र ब्याज तिर्न नसकेर घर छाडेर भाग्नेको सङ्ख्या हजारौँ रहेको रहेको छ । लघुवित्त र सहकारीको ऋण मिटर ब्याज भन्दा कम छैन । बैङ्कले कम ब्याजदरमा ऋण लगानी गरे पनि त्यसमा सर्वसाधारणको पहुँच छैन । प्रक्रिया नै झन्झटिलो छ । वैदेशिक रोजगारीको लहरले अधिकांश पुरुष बिदेसिएका छन् । जीतपुर सिमरा उपमहानगरपालिकाको माना विश्वकर्मा यतीबेला आधा दर्जन लघुवित्तको पासोमा पर्नुभएको छ।

एक वर्ष पहिला लिएको ऋण तिर्न नसकेपछि अहिले उहाँले दिनकै लघुवित्तका कर्मचारीको गाली सुन्नुपरेको छ । आफ्नो नाममा एक धुरसमेत जमिन नभएका मना विश्वकर्मा ऐलानी जग्गामा साना घर बनाएर बस्नुभएको छ । उहाँ काम पाएको बेला कहिले लेबरमा काम गर्नुहुन्छ भने कहिले दाउरा बेच्न सदरमुकाम कलैया र नयाँ बस्ती जाने गर्नुहुन्छ । लघुवित्तबाट कर्मचारी घरमा आउँदा जसरी भए पनि पैसा तिर्न मानसिक तनाव दिने गरेको समेत उहाँले बताउनुभएको छ ।

पैसाको अभावमा पिल्सिएका गरिब नागरिकसँग ऋणबारे सचेतना छैन । राज्य र वित्तीय निकायहरू यस्ता सचेतना अभियान चलाउन चुकिरहेका छन् । अनुत्पादनशील क्षेत्रमा ऋणको दुरुपयोग भइरहेको छ । अत्यावश्यक अवस्थामा मानिसले पाएको ऋण लिन्छन् तर उनीहरूसँग फिर्ता गर्ने उपाय र तरिका थाहा नहुँदा समस्यामा पर्ने गरेको लघुवित्त संस्था ज्यादती विरुद्ध सङ्घर्ष कमिटीको संयोजक कमलेश साह बताउनुहुन्छ ।

छिटो–छिटो ब्याज समेत सावाँमा जोडिँदै गएपछि आफ्नो ऋण कति पुग्यो ऋणीलाई थाहा हुन छाड्छ । ‘ब्याज पनि सावाँमा जोड्यो भन्छन् ‘ऋण कति पुग्यो भन्ने बारे ऋणीहरूलाई थाहा नै हुँदैन ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : ४७ बजे