रुपन्देहीमा डिएसपीसहित १४ प्रहरीलाई कारबाही

भैरहवा । प्रहरीमा गलत काम गर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरिन्छ । प्रहरी सङ्गठनको उद्देश्य र लक्ष्य विपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कारबाही हुने गर्छ । 

रुपन्देहीमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ जना प्रहरी कारबाहीमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७८/७९ मा २९ जना गलत काम गर्नेलाई कारबाही र राम्रो काम गर्ने ६५ जना प्रहरी पुरस्कृत भएका छन् ।

भ्रष्टाचार, सङ्गठनको आचारसंहिता उल्लङ्घन, कामकारबाहीमा लापरबाही, गैर व्यावसायिक कार्य र अनुशासनहीन लगायतका काम गरेका प्रहरी कर्मचारीलाई कारबाही हुने गर्छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १ जना प्रहरी नायब उपरिक्षक, १ जना प्रहरी वरिष्ठ नायब निरीक्षक, २ जना प्रहरी नायब निरीक्षक, १ जना प्रहरी वरिष्ठ हवलदार, १ जना प्रहरी हवलदार ४ जना प्रहरी सहायक हवलदार र ३ जना प्रहरी जवानलाई कारबाही गरिएको हो । 

यस्तै, यसै अवधिमा ६ जनाले राजीनामा, ४ इन्स्पेक्टरसहित ८ जनाले अनिवार्य अवकाश लिएको प्रवक्ता अर्यालले बताउनुभयो । 

प्रहरीले कारबाही मात्र नगरी राम्रा काम गर्नेलाई पुरस्कृत गरेको छ । पछिल्लो ७ महिनामा ३ डिएसपी, १९ इन्स्पेक्टर सहित ६३ जना प्रहरीलाई पुरस्कृत गरिएको छ भने ४८ जना प्रहरीको बढुवा गरिएको छ । बढुवा हुनेमा प्रहरी निरीक्षकमा ३ जना, प्रहरी नायब निरीक्षकमा १ जना र प्रहरी सहायक हवलदारमा ४४ जना रहेको कार्यालयले जनाकारी दिएको छ । 

आर्थिक वर्ष २०७८/७९ मा ७ जना ले राजीनामा लिएको, २९ जनालाई विभिन्न प्रकृतिको कारबाही गरिएको ६५ जनालाई पुरस्कृत गरिएको र ४ सय १९ जनालाई बढुवा गरिएको प्रहरी प्रवक्ता अर्यालले बताउनुभयो । 

कार्यालयको प्रस्तावमा प्रहरी प्रधान कार्यालय, मानव श्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा अन्तर्गत प्रहरी महानिरीक्षकको निर्णय अनुसार पदोन्नति हुने गरेको छ । पदोन्नति भएका सबैलाई जिल्ला प्रहरी कार्यालयले दर्ज्यानी चिन्ह प्रदान गर्ने गर्छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विगतमा पनि उत्कृष्ट कार्य गर्ने प्रहरीलाई महिना पिच्छे पुरस्कृत गर्दै आएको थियो । प्रहरी उपरिक्षक हेम कुमार थापाले जिल्लाको कार्यभार सम्हाले देखि जिल्ला प्रहरी र मातहत कार्यरत प्रहरी कर्मचारीलाई कामको मूल्याङ्कन गरेर हरेक महिना उत्कृष्ट प्रहरी अवार्ड र पुरस्कार दिँदै आएका थिए ।

यस्तै प्रहरी उपरिक्षक मनोज केसीले पनि कार्यभार सम्हाल्दा प्रहरी इन्ट्रिग्रीटी अवार्ड भन्दै मासिक रूपमा प्रहरी कर्मचारीहरूलाई सम्मान गर्ने गरेका थिए । सधैँ गलत गर्नेलाई प्रहरीलाई कारबाही गर्नु मात्र नभई उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरेर पनि सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्यले प्रोत्साहन स्वरूप अवार्ड दिने गरेको थियो । 

ठुलो परिमाणमा लागु औषध बरामद गर्ने, सङ्गठित प्रकृतिको अपराधको अनुसन्धान तथा प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्ने, विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने, आदेश–निर्देशनको पालना गर्ने, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रहने, आम सर्वसाधारण नागरिकहरूलाई सुरक्षाको अनुभूति दिने, कर्तव्य ज्यान वा पुराना प्रतिवादीहरूलाई पक्राउ गर्न सहयोग पुर्‍याउने लगायतका सूचकको आधारमा उत्कृष्ट प्रहरीलाई सम्मान गर्ने गरिएको थियो । अवार्डले प्रहरी बीच कामको प्रतिस्पर्धात्मक विकास, मनोबल बढ्नुका साथै चेकजाँचमा दुरुस्तता, सबै प्रहरी सूचनामा अपडेट पनि हुने गरेका थिए । 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १० : ४९ बजे