राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु

​​​​​​​काठमाडौँ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ ।

निर्वाचन आयोगका अनुसार आजदेखि चैत ५ गतेसम्म आचारसंहिता कायम रहनेछ । आयोगले दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको हो ।

आयोगले यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति निर्वाचनलाई मध्यनजर गरी आचारसंहिता लागु गरेको हो ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको रहेका छन् । 

आयोगका अनुसार ११ व्यक्ति, सङ्घसंस्था र निकायलाई आचारसंहिता लागु हुनेछ । नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी,सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, मतदाताले आचारसंहिता पालना गर्नुपर्ने हुन्छ ।

आचारसंहिता अन्तर्गत मतदानको ४८ घण्टा अघिदेखि सभा, जुलुस, नाराबाजीलगायत प्रचारप्रसार गर्न नपाउने व्यवस्था छ । साउन्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल तथा अन्य कुनै साधन प्रयोग गर्न नपाउने भनिएको छ । बाजा, सार्वजनिक भोज, हुल हुज्जत गर्न नपाइने, हातहतियार लिएर हिँड्न नपाइने व्यवस्था आचारसंहितामा छ । मादक पदार्थ पनि निषेध गरिएको छ । 

आयोगले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्न सबैलाई आग्रह समेत गरेको छ ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट नेपाली काँग्रेसका बिरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

 

 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : २४ बजे