सिचुआन एयरलाइन्सले छेङ्दु-काठमाडौं उडान थाल्दै, तीन वर्षपछि मार्चदेखि सातामा ४ उडान

काठमाडौं। चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले चीन-नेपाल उडान तीन वर्षपछि पुनः नियमित गर्ने भएको छ। कोभिडयता बन्द  उडान फेरि सुरु हुने तालिका पाइसकेको नेपाल नागरिक उड्डन प्राधिकरणले जनाएको छ।

कम्पनीले साताको आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तालिका पाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयाे। उहाँका अनुसार यो वायुसेवाले आउँदो मार्चदेखि नेपाल-चीन नियमित उडान फेरि थाल्नेछ।

यो वायुसेवाको नेपालका लागि आधिकारिक जेनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेशनल छ।   

यसअघि चीन-काठमाडौं हिमालय एयरलाइन्स, चाइना साउदर्न लगायत वायुसेवाले उडान सुरु गरिसकेका छन्।  वायुसेवा कम्पनी थपिएसँगै यो गन्तव्यतर्फको उडान भाडादर सस्तिने जनाइएको छ।  

सिचुआनसँगै मुलुकमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या २९ वटा पुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।     

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ३ : १६ बजे