एसियन हाइड्रोपावरको आइपिओ बाँडफाँट

काठमाडौँ । एसियन हाइड्रोपावर कम्पनीको सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओ आज बाँडफाँट गरेको छ । 

यस आईपीओमा ६९ हजार ७२० जना सर्वसाधारणहरूको आवेदन गोला प्रथाबाट १० कित्ताका दरले आइपिओ बाँडफाँट भएको छ। 

बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्केटका अनुसार आइतबार बिहान ९ः०० बजे आफ्नै कार्यालय नाग पोखरी नक्साल, काठमाडौँमा आइपिओ बाँडफाँट गरेको हो ।

हाइड्रोपावरले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपिओ बिक्री खुला गरेको हो ।

एसियन हाइड्रोपावरको आईपिओमा कुल १४ लाख ३२ हजार २२२ जनाले आवेदन दिएकोमा ६ हजार ५०२ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।

जसमा ६९ हजार ७२० जनाले मात्र सेयर हात पारेका छन् भने बाँकी १४ लाख २३ हजार ५८ जनाको भने हात खाली हुनेछ । हाइड्रोपावरले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४।७१ प्रतिशत अर्थात् ८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि र १० प्रतिशत अर्थात् ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ । 

यस्तै, सामूहिक लगानी कोषमा ५ प्रतिशत अर्थात् ४२ हजार कित्ता र २ प्रतिशत (१६ हजार ८ सय कित्ता) कर्मचारीहरूलाई छुट्याइएको र बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो । 

रेटिङ एजेन्सी केयर नेपालले एसियन हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा जोखिम रहेको सङ्केत गर्छ । 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ११ : १० बजे