एमालेको पत्र पाएपछि नेकपा एसले भन्यो, ‘संवादको ढोका खुल्यो’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले पत्र लेखेर समर्थन मागेर संवादको ढोका खोलेको बताएको छ ।

सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेले पत्र लेखेकोमा धन्यवादसमेत ज्ञापन गर्नुभएको छ ।  ‘पत्रका लागि धन्यवाद । यसले औपचारिक रूपमा राजनीतिक संवादको ढोका खोलिदिएको छ,’ पत्र पाएपछि प्रवक्ता खतिवडाले भन्नुभयो, ‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ  राजनीतिक संवादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुन सक्दछ ।’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गरेर एमालेका राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई मतदान गर्न अनुरोध पत्र लेख्नुभएको थियो। सो पत्र पाएपछि जवाफमा प्रवक्ता खतिवडाले राजनीतिक संवादको ढोका खोलेका बताउनुभएको हो ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : १८ बजे