कानुन व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन वीरगन्जमा

वीरगन्ज । कानुन व्यवसायी महिलाको ३०औँ राष्ट्रिय सम्मेलन आजदेखि पर्साको वीरगन्जमा सुरु हुँदै छ । त्यस अवसरमा आज बिहान यहाँ प्रभात फेरी गरिएको छ ।

सम्मेलनका अवसरमा वीरगञ्जको घण्टाघरबाट सम्मेलन स्थल टाउन हलसम्म प्रभात फेरी गरिएको छ । 

सम्मेलनको कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उद्घाटन गर्ने कार्यक्रम छ । शनिवारदेखि केन्द्रीय कार्यकारिणी परिषद्को ४८औँ बैठक संयुक्त रूपमा हुने तय भएको छ । 

नेपाल कानुनी व्यवसायी परिषद्को तथ्याङ्कअनुसार नेपालभर करिब तीन हजार कानुन व्यवसायी महिला छन् भने सम्मेलनमा तीन सयभन्दा बढी कानुनी व्यवसायी महिला सहभागी भएको बारका महासचिव अञ्जिता खनालले जानकारी दिनुभयो ।

बारको कार्यकारिणी बैठकको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले उद्घाटन गर्ने कार्यक्रम छ । ‘पेसागत उत्कृष्टता हाम्रो प्रतिबद्धता’ नाराका साथ आयोजना गर्न गरिएको उक्त सम्मेलनमा बारले ‘वर्तमान अवस्थामा बारको भूमिका भावी कार्य योजनासहितको मार्गचित्र’बारे छलफल गर्नेछ ।

त्यस्तै, सम्मेलनले समग्र महिला अधिकारको अवस्था र स्वतन्त्र न्यायपालिकाका लागि कानुन व्यवसायी महिलाको भूमिका, सङ्घीय संरचनामा महिला सहभागिता, पेसागत चुनौती, हिंसापीडितको न्यायमा पहुँचको अवस्था र निःशुल्क सहायतालगायत विषयमा विभिन्न विषयमा अवधारणा पत्र र कार्य योजनामाथि बृहत् छलफल गर्ने भएको छ ।रासस

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ११ : १७ बजे