‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

काठमाडौँ । इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र सांस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ ।

कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधवार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्य दृश्य र मौलिक कला संस्कृति झल्कने गीत–सङ्गीत प्रस्तुत गरिएको थियो । 

नेपालको पर्यटन प्रवर्द्धनका लागि त्यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा करिब तीन सय ७५ विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेको दूतावासले जनाएको छ ।

प्रदर्शनी कक्षमा नेपालको झण्डा, पशुपतिनाथ र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुण्डो, खुकुरी तथा बुद्ध धर्मको पहिचानसँग  सम्बन्धित अन्य सामग्री राखिएका थिए । 

नेपालको पर्यटन प्रवर्द्धनसँग सम्बन्धित पुस्तिका र पोस्टर वितरण गरिएको थियो भने सो कार्यमा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी र नेपाली समुदायले सहयोग पुर्‍याएका थिए । इजिप्टमा करिब तीन सयको सङ्ख्यामा चिकित्सा शिक्षातर्फ नेपाली विद्यार्थी अध्ययनरत रहेको दूतावासले जनाएको छ ।

उक्त प्रदर्शनीमा नेपालसहित इटाली, जापान, मेक्सिको, पाकिस्तान,  ताजकिस्तान, पोर्चुगल, रुस, भियतनाम, स्पेन, श्रीलङ्का, फिलिपिन्स, अष्ट्रेलिया, बोलिभिया, ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड, घानालगायत मुलुकका पर्यटन प्रवर्द्धनसम्बन्धी कक्ष राखिएका थिए ।

 त्यहाँस्थित नेपाली राजदूत सुशील कुमार लम्सालसहित कूटनीतिक तथा स्थानीय कर्मचारीको समेत सहभागिता रहेको उक्त कक्ष र सांस्कृतिक कार्यक्रमको स्थानीय, इजिप्टमा रहेका विदेशी नागरिक तथा विभिन्न देशका कूटनीतिक कर्मचारीलगायतले अवलोकन गरेका दूतावासले जनाएको छ ।रासस

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : २२ बजे