सुनको मूल्यमा नयाँ कीर्तिमान

शिक्षा क्षेत्रलाई राजनीतिबाट अलग राख्नुपर्छ : अध्यक्ष तिमिल्सिना

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिक्षा क्षेत्रलाई राजनीतिबाट अलग गर्नुपर्ने बताउनुभएको छ ।

गृह जिल्ला पर्वत सदरमुकाम कुश्माबजारमा रहेको शिवालय बहुमुखी क्याम्पसको १२औँ वार्षिकोत्सव समारोहमा उहाँले शैक्षिक क्षेत्र राजनीतिक खेलका कारण अस्तव्यस्त बन्दै गएको बताउनुभयो । उहाँले शिक्षालयहरू सामूहिक भावनाअनुसार चलाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “नेपालमा शैक्षिक गुणस्तर वृद्धि हुन नसक्नुका आफ्नै कारण रहेका छन्, यहाँ त फरक–फरक पार्टीका फरक–फरक विद्यालय र क्याम्पस छन्, स्वतन्त्र रूपमा सञ्चालन भएका शिक्षालयहरूमा पनि राजनीतिक पार्टीको ट्याग लगाउने प्रचलन हाबी छ । जसले गर्दा एउटा राजनीतिक दलसँग आस्था राख्ने अभिभावकले अर्को क्याम्पसमा विद्यार्थी नपठाउने गरेको देखिन्छ यो ठुलो विकृति बनेको छ ।”

उहाँले युवा शक्ति पलायन दर बढी भएकाले नेपालमा खोलिएका शैक्षिक संस्थाको सङ्ख्या बढी भएको बताउनुभयो । आवश्यकताका आधारमा भन्दा पनि प्रतिस्पर्धाका आधारमा खोलिने शैक्षिक संस्थाले समस्या बढ्दै गएको बताउनुभयो । 

उहाँले फरक–फरक विषयका फरक–फरक क्याम्पस सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले पर्वत जिल्लामा रहेका १४ वटा क्याम्पस सञ्चालन गर्न समस्या परिराखेको बताउँदै यिनीहरूलाई मर्ज गरेर अघि बढ्दा उपयुक्त हुने सुझाव दिनुभयो । 

कार्यक्रममा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी र प्रदेशसभा सदस्य भक्त कुँवरले सामुदायिक क्याम्पसलाई राज्यले भवन निर्माणमा भन्दा दरबन्दीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।  

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ६ : २५ बजे