​​​​​​​कविता : राजनीतिक अवसरवाद

अवसरवादको कुनै स्थायी रङ्ग हुँदैन ,

कुनै जात र धर्म हुँदैन

यस्काे कुनै आकार हुँदैन

उचित समय पाउनासाथ टुसाउन र बढ्न थाल्छ ।

अन्धकार कोठाको ढुसी जस्तै ।

यस्काे कुनै संस्कार हुन्न, रीतिथिति पनि,

जतापायाे उतै मिल्ने,चौपट्टै बेसारे बनी।

एउटासित मायाप्रीति , विवाह अर्कैसित,

सुहागरात एउटासित,घरजम अर्कैसित।

जता सत्ता उतैतिर प्रतिभोज पनि,

के भनेर परिभाषा दिने मैले पनि ।

छेपारोले जस्तै रङ्ग, फेर्न सक्छ यसले,

जतापायाे उतै मिल्छ,रोक्ने छेक्ने कसले ।

टोलै पिच्छे फरक भाषण, फरक रुपरङ ,

आफ्नो रवाफ हेरिदेखि, आफैँ पर्छ दङ्ग।

नजानेको केही हुन्न,सबै जानेजस्तो ,

राजनीतिको अवसरवाद छुँदा काउसो जस्तो ।

सत्ता निम्ति मरिहत्ते, सकेसम्म गर्छ,

बन्दुक बारुद सकाएर, युद्ध विराम गर्छ।

शान्ति अनि सम्झौताको नाटक नाना थरी ,

मुलसत्तामा साझेदारी, हस्ताक्षर गरी ।

जता सत्ता उसैसँग, मिल्छ घरीघरी ,

बुझौँ बुझी साध्य छैन, कठै अवसरवादी ।

अंकमलमा पनि यसले, बारुदको गन्ध देख्छ,

मूल सत्ताको निम्ति सधैँ ,विदेशीको पाउ मोल्छ ।

हाछ्यु गर्दा डराउँछ, काँप्छ थरथरी,

कहिले यता कहले उता घुम्छ घरीघरी ।

अवसरवादको अस्थिपञ्जर कमजोर हुँदै गाछ

ढलेको रुखको एेंजेरुकाे हालत जस्तो भाछ ।

बोल्ने कुनै ठेगान छैन,घण्टै पिच्छे बोली फेर्छ,

एउटा सहमति लागु नहुँदै,अर्कोतिर फेरि गर्छ ।

धोखा धडिकाे पासो थापी, उधारोमा पद बाड्छ,

आफै खाले आफै च्याँखे,सबै कुरा आफै गर्छ ।

सहमतिको नाममा सधैँ ,अस्थिरता पैदा गर्छ

त्यसैले त अवसरवाद यहाँ अभिमन्यु भएको छ ।

२०७९ फाल्गुण ११ गते, काभ्रे

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ३ : ३१ बजे