डीआईजी अशोक सिंहद्वारा राजीनामा

काठमाडौं । डीआईजी अशोक सिंहले राजीनामा दिनुभएको छ । आज दिउँसो प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा पुगेर उहाँले राजीनामा बुझाउनु भएको हो ।

सिंह हाल सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख हुनुहुन्थ्यो । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको दौडमा रहेका बेला जन्ममिति विवाद सार्वजनिक भएपछि सिंहले राजीनामा दिनु भएको हो ।

उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि सिंहले त्यसअघि नै राजीनामा दिनुभएको हो । उहाँले केहीबेरअघि राजीनामा बुझाएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पुष्टि गरेको छ।  

राजीनामाअघि सिंहले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई भेट्नुभएको थियो । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट गर्नुभएको थियो ।

सिंहको जन्म मिति फरक फरक रहेको लगायत आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन अघि बढिसकेको छ। 

सिंहले पेश गरेको २२ जेठ २०४२ मा जारी नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा उहाँको उमेर १८ वर्ष उल्लेख छ । जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उहाँको जन्ममिति २०२४ हुनुपर्ने हो । प्रहरी प्रधान कार्यालयको विवरणमा उनको नागरिकता अनुसार उहाँको जन्ममिति २२ जेठ २०२४ हुने उल्लेख छ ।

 सिंहको शैक्षिक प्रमाण पत्रमा जन्ममिति १६ पुस २०२५ जन्ममिति उल्लेख छ ।

प्रहरी नियमवालीमा सेवा प्रदेश गर्दा सम्बन्धित व्यक्तिले लिएको नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र र वैयक्तिक विवरण सबैमा एउटै मिति नभए जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिका आधारमा हिसाब हुने भनिएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  २ : ५० बजे