आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपालका लागिस्कटल्यान्डविरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं ।  आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत कीर्तिपुरमा जारी त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्। 

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि चौथो नम्बरमा क्रिजमा उत्रिएका रोहितले ५४ बलमा चार चौका र दुई छक्कासहित ५० रन पूरा गरेका हुन्।

नेपालले २९.१ ओभरमा सात विकेट गुमाएर एक सय २६ रन बनाएर खेलिरहेको छ। नेपालका ओपनरद्वय कुशल भुर्तेल एक तथा आसिफ शेख १२ रन जोडेर आउट हुँदा ज्ञानेन्द्र मल्ल २१ रन जोडेर पेभेलियन फर्केका छन्। यस्तै, कुशल मल्ल १७, सन्दीप जोरा एक, दीपेन्द्रसिंह ऐरी सात र सोमपाल कामी दुई रन बनाएर आउट भए। अहिले क्रिजमा रोहितसँगै सन्दीप लामिछाने दुई रन बनाएर खेलिरहेका छन्।

स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक तीन विकेट लिएका छन्। क्रिस ग्रिभिसले दुई तथा ब्रान्डोन म्याकमुलेन र माइकल लिस्कले एक–एक विकेट लिएका छन्।

जितका लागि २०.५ ओभरमा ८७ रन आवश्यक छ ।

पहिलो इनिङमा जर्ज मन्जीको अर्धशतकप्रेरित स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर दुई सय १३ रनको योगफल तयार गरेको थियो।

नेपालको कसिलो बलिङसामू संघर्षरत स्कटल्यान्डले पहिलो विकेटका लागि ४२ रनको साझेदारी पाएको थियो। तर त्यसपछि लामो साझेदारी गर्न नसकेको स्कटल्यान्डले ठूलो योगफल बनाउन सकेन।

स्कटल्यान्डका लागि ५० बलको सामना गरेका मन्जीले ९ चौका र दुई छक्कासहित ६० रनको इनिङ खेले। यस्तै, पाँचौं नम्बरमा क्रिजमा उत्रिएका विकेटकिपर–ब्याटर म्याथ्यु क्रसले ६३ बलमा चार चौका र एक छक्कासहित ४२ रन जोडे।

त्यसबाहेक, ब्रान्डोन म्याकमुलेनले ३१, काइल कोइट्जरले २२ र क्रिस्टोफर म्याकब्राइडले २२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि स्पीनर सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर सर्वाधिक चार विकेट लिए। यस्तै, ९.१ ओभरमा ४२ रन खर्चिएका करण केसीले तीन तथा ललित राजवंशी र कुशल मल्ले एक विकेट लिए।

यसअघि शुक्रबार भएको स्कटल्यान्डविरद्धको पहिलो एकदिवसीयमा नेपालले दुई सय ७५ रनको लक्ष्य पूरा गर्दै जित हासिल गरेको थियो। जारी शृंखलामा अपराजित नेपाल आजको खेल जित्दै शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ।

नेपाललाई विश्वकपको ग्लोबल छनोटमा पुग्न योसहित नौ वटै खेल जित्नुपर्ने दबाब छ। नेपालले यो शृंखला लगत्तै यूएईमा घरेलु टिम र पपुवा न्यू गिनी (पीएनजी)सँग अर्को शृंखला खेल्ने छ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ३ : ३५ बजे