गुण एयरलाइन्सका विमानहरुलाई उड्न नदिने प्राधिकरणको निर्णय

काठमाडौं । सरकारले गुण एयरलाइन्सका विमानहरुको उडानमा रोक लगाउने निर्णय गरेको छ ।

गुण एयरलाइन्सले कर्मचारीलाई तलब समेत दिन नसकेको र हवाई सुरक्षा पक्षमा प्रभाव पर्ने जोखिम रहेको ठहर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा रोक लगाउने निर्णय गरेको हो । गुणका ७ वटै विमानले सोमबारदेखि उडान भर्न नपाउने भएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलका अनुसार कम्पनीले कर्मचारीको सेवा सुविधा समयमै दिन नसकेको र आर्थिक संकटसँग  जुधिरहेकाले उडान बन्द गर्न लगाइएको बताए । 

‘तलब नपाएका कर्मचारीले राम्रोसँग काम नगर्न सक्छन्, तलब समेत नपाएको मनोविज्ञान रहेको अवस्थामा हवाई सुरक्षामा जोखिम बढी हुनसक्छ,’ प्रवक्ता निरौलाले भने।

गुण एयरलाइन्सले सिम्रिक एयरलाइन्सका विमानहरु किनेर हवाई सेवा दिंदै आएको थियो । 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ४ : ५१ बजे