सुनको मूल्यमा नयाँ कीर्तिमान

भारतले दियाे नेपाललाई मिर्गौला डायलाइसिस मेसिन

काठमाडाैं । भारत सरकारले दुई सय वटा मिर्गौला डायलाइसिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहकाबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती मेसिन हस्तान्तरण गर्नुभयाे।

करिब एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष सो मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो । समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले सो मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्नुभयाे ।

त्यस अवसरमा उहाँले २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोग नेपाल राष्ट्र र नेपाली जनताले सदास्मरण गरिरहने उल्लेख गर्नुभयाे । मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रूपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भुल्न नसकिने पनि बताउनुभयाे ।

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई सो मेसिन हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनुभयाे । उहाँले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १ : ४४ बजे