दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौँ  । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ ।

७३औँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणको अभियानमा सहमति कायम गर्दै अगाडि बढ्न सकिएमा मात्र सहिदप्रति सच्चा सम्मान र मुलुकले समृद्धितर्फ पाइला चाल्न सक्ने बताउनुभएको छ । 

उहाँले सन्देशमा विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व तथा राष्ट्रिय एकता आजको आवश्यकताको रूपमा रहेको उल्लेख गर्नुभएको छ । “राष्ट्रिय हितका लागि हामी सबै केन्द्रित हुनुपर्नेमा कतिपय अवस्थामा स्वार्थ केन्द्रित गतिविधि देखिएकाले त्यस्ता प्रवृत्तिप्रति सम्पूर्ण राजनीतिक दल, सरकार स्वयं र आम नेपाली जनतासमेत सजग र सचेत हुनु आवश्यक छ”, जारी सन्देशमा भनिएको छ ।

सन्देशमा प्रजातन्त्र प्राप्तिको मार्गदर्शनमा वर्तमान संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पसहित सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाजस्ता आधारभूत विशेषतालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ ।

“संविधानको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन गर्न, नागरिकका आधारभूत मौलिक हक तथा मानवअधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायिक वितरण गर्नतर्फ हाम्रो ध्यान जानु जरुरी छ”, सन्देशमा भनिएको छ, “राजनीतिक परिवर्तन संस्थागत भए पनि जनताले द्रुत आर्थिक विकास, सामाजिक न्याय र सुशासनको पूर्ण अनुभूति गर्न भने पाएका छैनन् ।”

नेपाली जनताको लोकतन्त्रप्रतिको समर्पित भावना र दृढ इच्छाशक्तिकै कारण संविधानमार्फत जनतामा निहित सार्वभौमसत्ता, स्वायत्तता र स्वशासनको अधिकारप्राप्त भएको उल्लेख गर्दै सन्देशमा उहाँले प्रजातन्त्रको जगमा अहिले हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संसदीय शासन व्यवस्था अवलम्बन गरेको बताउनुभयो । 

दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक व्यवहारलाई आत्मसात् गर्ने प्रेरणा सबैमा मिल्ने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ९ : ४३ बजे