आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

स्कटल्याण्डमाथि नेपालको जित

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डलाई नेपालले ३ विकेटले पराजित गरेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको हो । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले पूरा ओभरमा ९ विकेटको क्षतिमा २७४ रन बनाएको थियो। 

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३ ओभर बाँकी छँदै जित निकाल्न सफल भएको हो।  

नेपालको जितमा दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल नायक साबित भए।

ऐरीले ११६ बलमा ८५ रनको योगदान दिए। उनी अविजित रहे। उनले ६७ बलमा ८१ रन बनाउन सके। 

आक्रामक ओपनिङ गरेको नेपालले १०० रनको बनाउँदा ५ विकेट गुमाइसकेको अवस्था थियो। कप्तान रोहित पौडेल आज सस्तैमा समेटिएपछि नेपालको पारी धर्मराएको थियो।  

ज्ञानेन्द्र मल्ल पनि ३ बलमा ४ रन मात्र बनाएर आउट भए। ओपनर आशिफ शेखले पनि १४ बलमा मात्र ९ रन बनाएर पेभेलियन फर्केका थिए। 

तर मध्यक्रमका ब्याटर चम्किएपछि नेपालले पूरा ओभर खेल्नै परेन। 

बायाँ हाते अलराउन्डर मल्लले ६७ बलमा ९ चौका र ४ छक्का बनाए। 

मल्ल स्पिनर मार्क वाटको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर हम्जा ताहिरबाट क्याच आउट भएपछि शतक नजिक पुगेर पेभेलिएन फर्किनुपरेको थियो । 

स्कटल्यान्डका सातौं नम्बरका ब्याटर माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १ सय ७ रनको शानदार अविजित शतकीय इनिङ खेले पनि हार टार्न भने सकेनन् ।

नेपालका सन्दीप लामिछानेले ३ तथा कुशल मल्लले २ विकेट लिएका थिए। 

सिरिजमा नेपालले भोलि आफ्नो तेस्रो खेलमा नामिबिया र मंगलबार अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्नेछ। 

शृंखलामा नेपालको यो दोस्रो जित हो। नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको थियो। यस्तै, बुधबार स्कटल्यान्डले नामिबियाविरुद्ध १० विकेटको शानदार जित निकालेको थियो।

लिग–२ मा स्कटल्यान्ड च्याम्पियन भइसकेको छ। लिग–२ को शीर्ष टिम स्कटल्यान्डले ३४ खेलबाट ४८ अंक जोडेको छ। दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले अन्तिम चार खेल बाँकी छदा ३७ अंक जोडेको छ। चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ। यो अवस्थामा अब स्कटल्यान्डले बाँकी सबै खेल हारे पनि शीर्ष स्थान गुमाउने छैन। 

लिग–२ मा नेपाल छैटौं स्थानमा छ । नेपालले लिग–२ मा आफ्ना १० खेल खेल्न बाँकी छदा २६ खेलबाट २२ अंक जोडेको छ । नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ । पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ ।

लिग–२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ।

लिग–२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ। जसमा नामिबिया बलियो स्थानमा रहदा नेपाललाई शीर्ष तीनमा पर्न कठिन छ।

आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि तीन वटा लिग गरिरहेको छ। जसमा टेस्ट मान्यता प्राप्त १२ टिम र नेदरल्यान्ड्स गरी १३ टिमबीच सुपर लिग, नेपालसहित सात एकदिवसीय मान्यता प्राप्त टिमबीच लिग२ र एसोसिएट टिमबीच प्रतिस्पर्धा भएको च्यालेन्ज लिग रहेका छन्।

सुपर लिगबाट ७ टिम र आयोजक भारत गरी आठ टिम विश्वकप २०२३ मा पुग्नेछन्। अब दुई स्थानका लागि सुपर लिगका पाँच टिम, लिग–२ का तीन टिम र क्वालिफायर प्लेअफका दुई टिम गरी १० टिमबीच छनोट प्रतियोगिता हुँदैछ। क्वालिफायर प्लेअफमा लिग–२ का चार टिम र च्यालेन्ज लिगका दुई टिम गरी छ टिमबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ४ : ५५ बजे