प्रधानसेनापतिद्वारा खड्ग दल गण र दुर्गा दल गुल्मलाई ट्रफी तथा पुरस्कार प्रदान

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गण÷गुल्मतर्फ प्रथम हुने खड्ग दल गण र दुर्गा दल गुल्मलाई ट्रफी तथा पुरस्कार प्रदान गर्नुभएको छ ।

महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६०औँ वार्षिकोत्सवका अवसरमा सैनिक मञ्चमा बिहीबार आयोजित विशेष कार्यक्रममा उहाँले चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ गण र  कोसी टप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ गुल्मलाई पुरस्कार प्रदान गर्नुभएको हो ।

प्रधानसेनापति शर्माले  सैनिक ड्रिल प्रतियोगिता, २०७९ मा प्रथम हुने उपत्यका पृतनालाई पनि पुरस्कार प्रदान गर्नुभयो । 

उहाँले त्यस अवसरमा सेनाका बहालवाला रथीवृन्द सात, अधिकृत दुई सय २१, पदक तथा अन्य दर्जा चार सय ८८ र सैनिक श्रीमती सङ्घका पदाधिकारी ११ जनालाई प्रधान सेनापति प्रशंसा निशानसमेत प्रदान गर्नुभयो ।

महारथी शर्माले मानार्थ उपसेनानी पदमा पदोन्नति भएका ९४ जनालाई दर्ज्यानी चिह्न तथा अवकाश प्राप्त सहायक रथी डा प्रेमसिंह बस्न्यातलाई सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान प्रदान गर्नुभयो । सो अवसरमा कृषि, प्राकृतिक प्रकोप उद्धार, समाज सेवा र लघुवित्त  क्षेत्रमा उत्कृष्ट उद्यमीलाई सम्मानित गरिएको थियो ।

सेनाले स्थापना दिवसका अवसरमा विभिन्न प्रतियोगिताका विजयी  एवं प्रशंसनीय कार्य गर्नेलाई पुरस्कार प्रदान गर्दै आएको छ । हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ९ : १७ बजे