‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदै छ । 

आयोजक ऋति फाउण्डेसनका संयोजक कमल लम्सालका अनुसार यही ७ गतेसम्म हुने उक्त उत्सव सरोकारवालालाई प्रश्न र उत्तर गर्ने माध्यमका रूपमा लिइएको छ । 

उहाँले भन्नुभयो, “कर्णालीका विभिन्न क्षेत्र समेटिने गरी ५० भन्दा बढी सवालमा छलफल गरिसकेका छौँ ।” विचारको बहसबाट साझा विवेक र चेतनाको विकास भएको उहाँको भनाइ छ । कर्णालीको समग्र क्षेत्र समेटिने गरी कार्यक्रमको ढाँचा तयार गरिएको लम्सालले बताउनुभयो । 

उत्सवको सवाल तथा विषयवस्तु तयारी टोलीका संयोजक प्रकाश लामिछानेले १६ भन्दा बढी सत्रमा ६० भन्दा बढी वक्ता बोल्ने कार्यक्रम रहेको बताउनुभयो । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उत्सवको उद्घाटन तथा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले आमन्त्रितलाई स्वागत गर्नुहुनेछ । 

पहिलो दिनको सत्रमा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले चौथो संस्करणसम्म आइपुग्दा, राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हामी कसरी जोडियौँ ? भन्ने विषयमा आफ्नो प्रस्तुति राख्ने कार्यक्रम छ । 

तातोपानी निवासी नारायणी चौलागाईले कर्णाली उत्सवदेखि लाम्रा संवादसम्मको विषयवस्तु राखेपछि निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले निर्वाचन र लोकतन्त्रका विषयमा प्रवचन दिने कार्यक्रम छ ।

‘कर्णाली चिन्तन’ शीर्षकमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंह वक्ता रहनुभएको छ । दोस्रो, तेस्रो, चौथो र पाँचौँ सत्रमा क्रमशः ‘कर्नाली खेल्दो छ’, ‘यो सहर–त्यो रहर’, ‘भोट र भेट’, ‘शिक्षा र समर्पण’ शीर्षकमाथि बहस हुँदा विभिन्न क्षेत्रसँग सम्बन्धित दश वक्ताले भाग लिनेछन् । 

पहिलो दिन कर्णालीको पैकेलो (नायक)का रूपमा गायक सुरज पण्डितलाई उत्सवमा सम्मान गरिनेछ । साँझमा साङ्गीतिक साँझ कार्यक्रम गरिने आयोजकले जनाएको छ । रासस

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ८ : १८ बजे