मतदाता जो जहाँ छ त्यहींबाटै भोट हाल्न पाउने कानून बनाउनुपर्छ: प्रमुख निर्वाचन आयुक्त

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताउनुभएको छ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले आम मतदाताहरुले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानून बनाउनुपर्ने बताउनुभएको हो।

उहाँले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउनुपर्ने जानकारी दिनुभयो। आयुक्त थपलियाले कर्मचारी र कैदीबन्दीलाई यसैपटक समानुपातिकमा मतदान गर्न दिइएको उल्लेख गर्नुहुँदै आगामी दिनमा कानून बनाएर आम मतदातालाई दिइनुपर्ने बताउनुभयो।

आयुक्त थपलियाले भन्नुभयो, ‘अब बन्ने कानूनमा त्यो व्यवस्था गर्नुपर्छ भन्ने मेरो बुझाई छ। नेपाल भित्र अन्तिम मतदाता नामावलीमा नाम भएको कुनैपनि व्यक्ति । घरमा उसको मतदान केन्द्र छ, मतदान केन्द्रमै पुग्छ ठिक छ। तर, तपाई एउटा एनजिओमा काम गरिरहनुभएको छ काठमाडौंमा छ। तपाईको घरचाहिं मनाङ हो। तपाईको घर ताप्लेजुङ हो । तपाईले भोट नै हाल्न नपाउने भन्ने हुन्छ ? जो जहाँ छ त्यहीँबाट कम्तिमा पनि समानुपातिक तर्फबाट उसले भोट हाल्न पाउने कुराको सुनिश्चितता गर्नेगरी कानुन बनाउनुपर्छ ।’

आयुक्त थपलियाले भन्नुभयो, ‘कर्मचारी, कैदीबन्दीले यो पटक भोट हाल्न पाउनुभयो। तपाई कैदीबन्दी भन्दा पनि कमजोर हो र ? तपाईलाई दिनुपर्छ। यसो ग¥यो भने मत त यसै बढ्यो नि । मलाई लाग्छ यस्तो मत, १० लाखभन्दा बढी मतदाताले यसपाली भोट हाल्न पाएका छैनन् । त्यसकारण हामीले मात्रै भन्न सक्दैनथ्यौ कानुनमा थिएन । विदेशमा बसेका मतदाताको कुरा होला । यसरी जानुपर्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले जनअनुमोदित राजनीतिक दलहरुलाई मात्रै सर्वदलीय बैठकहरुमा समावेश गराउने प्रावधान राख्नेगरी आयोगले निर्णय गर्न लागेको बताउनुभयो । उहाँले जिल्लामा सर्वदलिय बैठक राख्नुपरेमा सो जिल्लामा पार्टीको जिल्ला समितिको विवरण पेस गरेको, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गरेको दलहरुलाई मात्रै बोलाउन आफूले निर्देशन दिएको जानकारी दिनुभयो ।

आयुक्त थपलियाले दल दर्ता गर्नु उपलब्धि नभएर जनताद्वारा अनुमोदित हुनु र वैद्यता सिर्जना गर्नु ठूलो कुरा भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘कुनै जिल्लामा सर्वदलिय बैठक राख्नुपर्‍यो भने कसलाई बोलाउने भन्दा त्यो जिल्लाबाट प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गरेको दल छ भने र त्यसले आफ्नो जिल्ला समितिको विवरण जिल्लामा पेस गरेको छ भने बोलाउनुस् । नभए नबोलाएपनि हुन्छ भनिदिए हिजोको बैठकमा मैले । यो निर्णय गरिदिन्छु अब । होइन भने ११६ वटा दल बोलाएर यहाँ काठमाडौंमा कसरी बैठक गर्नु ? कहाँ राखेर बैठक गर्नु रु टुँडिखेलमा जानु सर्वदलिय बैठक गर्न ? मैले उदारणमात्रै भन्न खोजेको ।’

आयुक्त थपलियाले भन्नुभयो, ‘’जनताद्वारा पनि अनुमोदित हुँदै आउनुपर्छ दलहरु भन्ने अर्थमा मैले भनेको हो। दल दर्ता उपलब्धि होइन। जनताद्वारा अनुमोदित हुँदै जानु, वैद्यता सिर्जना गर्नसक्नु ठूलो कुरा हो । यता जानुपर्छ भन्ने लाग्छ ।’

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ३ : ५६ बजे