काठमाडौँ । गए राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते हुनुभएका नेपाली काँग्रेसका नेता डा चन्द्रकान्त भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ ।
नेता भण्डारीसँगै उहाँका आमा ८६ वर्षीया हरिकलाको पनि आइसियुमै उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जानकारी दिनुभयो ।
गए राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिन्डर पड्किएर दुवै जना घाइते हुनुभएको हो ।
अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीका अनुसार नेता डा भण्डारीको अनुहार, दुवै हात र गोडामा २५–३० प्रतिशत तथा आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको छ ।
डा. भण्डारी र आमा हरिकलाको श्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको डा नकर्मीको भनाइ छ ।
नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण (सिफारिस)गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार ९ : ४९ बजे
प्रतिक्रिया