सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनसरीमा तीन जनामा दादुरा पुष्टि

इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ । 

बर्जु–२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमुना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईँका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि दुवै जनाको स्वास्थ्य परीक्षण गर्दा दादुरा पुष्टि भएको हो । बर्जुमा दादुराको आशङ्कामा अन्यको नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको छ । 

विश्व स्वास्थ्य सङ्गठनको टोलीले बर्जूको २ नं वडामा बिरामीको नजिक रहेका र शङ्का गरिएकाको नमुना परीक्षणका साथै क्षेत्र, जिल्ला र स्थानीय तहको स्वास्थ्यकर्मीको टोलीलाई भेटेर  जानकारी लिएको छ । 

गाउँपालिकासँगको समन्वयमा सबै विद्यालयमा दादुरासँग सम्बन्धित जानकारी बटुलिने काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

बर्जुमा दादुरा पुष्टि भएसँगै पछिल्लो एक महिनाभित्र पाँच वर्षमुनिका बालबालिकामा बिमिरा र ज्वरो आउनेजस्ता लक्षण देखा परे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य कार्यालय सुनसरीले आग्रह गरेको छ । रासस

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ८ : ३४ बजे