हिल्सामा दुईदेखि तीन फिट हिउँ : सीमा सुरक्षा गर्न हिउँमा गस्ती

सुर्खेत । सीमा जोगाउनका लागि हुम्लास्थित सीमा सुरक्षा चौकी (विओपी)का सुरक्षाकर्मी हिउँमा गस्ती गर्न बाध्य भएका छन् ।  

नेपाल र चीनको सीमाना हिल्सामा सीमा सुरक्षाका लागि सुरक्षाकर्मी हिउँमा नियमित गस्ती कार्य गर्दै आएका हुन् ।

नियमित रूपमा सीमा स्तम्भहरूको अनुगमन हिउँमै गर्नुपर्ने भएकाले आफूहरू गस्ती गर्न बाध्य भएको बिओपी हिल्साका सशस्त्र प्रहरी निरीक्षक रामकुमार महत क्षेत्रीले बताउनुभयो । नेपाल चीनको बीचमा रहेको सीमानामा हिउँमै भए पनि गस्ती गर्नुपरेको छ ।

हिल्सामा दुई दिनदेखि तीन फिट हिउँ जमेको कारण त्यहाँ हिउँ छिचोल्नुपर्ने बाध्यता रहेको छ ।  सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी हिल्साको सीमा सुरक्षा चौकीमा खटिँदै आएका छन्। हिउँ नहुँदा हिल्साबाट यारीसम्म गए पनि अहिले नारा लेकमा बाक्लो हिउँ जमेको कारण चोर लाग्नासम्म मात्र पुग्न सकिन्छ ।

बिहान गस्तीमा निस्केको टोली बेलुका मात्र चौकीमा फिर्ता हुने गरेको छ। दैनिक गस्ती निस्कने भएको कारण सुरक्षा व्यवस्थामा हालसम्म कुनै समस्या देखिएको छैन। घाम लागेपछि मात्र हिल्साबाट सञ्चार सेवाबाट सम्पर्क गर्न सकिने छ । 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ७ : ०९ बजे