अनुगमन गर्दा म्याद नाघेका औषधि जफत

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा ३६ हजार मुल्य पर्ने म्याद नाघेको खाद्य सामग्री नष्ट गरिएको छ ।

ईलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख तथा बजार अनुगमन अधिकृत मोहनबहादुर राई संयोजकत्वको टोलीले सोमबार खोटाङबजारमा गरेको बजार अनुगमनका क्रममा ३६ हजार १९५ रुपैयाँ बराबरको म्याद गुज्रेका खाद्यवस्तु जफत गरेर नष्ट गरेको हो । गाउँपालिकाको केन्द्रका रुपमा रहेको बजार अनुगमनका क्रममा टोलीले १२ हजार १४० रुपैयाँ मुल्य म्याद नाघेको औषधि समेत फेला पारेको छ । 

अनुगमनका क्रममा पेय पदार्थ, विस्कुट, चिउरा, खानेतेल, बेसार, सरफ, आँटा, अलैँची, चिजबल लगायतका म्याद गुज्रेका १९ प्रकारका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ । १० हजार ५७५ मुल्य बराबरको कस्मेटिक सामान जफत गरेर नष्ट गरिएको खोटेहाङ गाउँपालिका उपाध्यक्ष एवं गाउँपालिकाका अनुगमन समिति संयोजक रुपेश राईले बताए ।

व्यापारी तथा व्यवसायीबाट म्याद गुज्रिएका खाद्यान्न तथा औषधि विक्रीवितरण गरेर मानव स्वास्थ्यसँग खेलबाड गरिरहेको जनगुनासो आएपछि बजार अनुगमन गरिएको हो ।   आइतबार जन्तेढुंगा गाउँपालिकाको चिसापानी बजारमा ३९ हजार ३०८ रुपैयाँ बराबरको म्याद नाघेको खाद्य सामग्री जफत गरेर नष्ट गरिएको थियो । 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १० : ३४ बजे