‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कांग्रेस सत्ता पक्ष  कि प्रतिपक्ष ?

कांग्रेस सभापति शेरबहादुर देउवाको आवश्यकता भन्दा बढी सत्ता लोलुपता देखाएकै कारण हातमा आएको सत्ता गुमाएका हुन् ।  कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा आँखा गाडेकै कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिरक्तिएर बालकोट तिर लागेका हुन । प्रचण्ड बालकोटको बार्दलीमा पुगेपछि होस हराएका देउवाको अहिलेसम्म होस खुलेको छैन । 

कांग्रेस पहिलो पार्टी भएपछि देउवामा फेरी पनि प्रधानमन्त्री हुने आशा पलाएको थियो । देउवाको कोठरीले कुनै हालतमा प्रधानमन्त्री प्रचण्डलाई दिन हुँदैन भनेर रट लगाएको थियो । र, सो कोठरीले फेरी पनि तपाई नै प्रधानमन्त्री हो अन्तिमसम्म छोड्न हुँदैन भनेर उक्साएको थियो । त्यही उक्साहटमा परेर उनले प्रचण्डको अनुनय –विनयलाई अन्तिम समय सम्म पनि नसुनेका हुन । रामचन्द्र पौडेलहरूले प्रधानमन्त्री प्रचण्डलाई छोड्न देउवालाई  दश पटक भन्दा बढी  घुमी–घुमी अनुरोध गर्दा पनि उनले नसुनेका हुन । अहिले सत्ता गुमाउनु परेको सारा दोष देउवाले आफ्नो टाउका बोकिरहेका छन् । पार्टीको बैठकमा त्यसको आफूमाथि चर्को आलोचना हुने डरले एकपछि अर्को गर्दै केन्द्रीय समितिको बैठक स्थगित गरेर भागिरहेका छन् । अरू त अरू संस्थापन पक्षकै नेताहरूले समेत भेला बसेर सभापति देउवालाई केन्द्रीय समितिको बैठकबाट नभाग्न र बैठक राख्न सार्वजनिक रूपमा बोलिरहेका छन् । तर, केन्द्रीय समितिको बैठक राख्न देउवाले सकिराखेका छैनन् । केन्द्रीय समितिको बैठकमा सत्ता गुमाउनु पर्दाको दोष मात्रै होइन, प्रचण्डको नेतृत्वमा बनेको सरकारलाई विश्वासको मत दिन गरेको जर्वरजस्त निर्णयको पनि चर्को विरोध  आफूमाथि हुने डरले देउवा पार्टी केन्द्रीय समितिको बैठकबाट भागिरहेका छन् । 

  सबैलाई थाह छ,अहिलेको निर्माण भएको सत्ता  समीकरण भत्काउनका लागि उनले सरकारलाई विश्वासको मत दिएका हुन । सरकारलाई कांग्रेसले दिएको विश्वासका मतका कारण आज कांग्रेस सार्वजनिक रूपमा नै लज्जित हुन परिरहेको छ ।  प्रचण्डको नेतृत्वमा निर्माण भएको सरकारसँग पर्याप्त बहुमत हुँदा –हुँदै उसले विश्वासको मत दिनु नै आवश्यक थिएन । आफूलाई लोकतन्त्रको नम्बर १ पार्टी भन्ने कांग्रेसले सरकारलाई विश्वासको मत दिएर अलोकतान्त्रिक काम गरेको छ । कांग्रेसको यस्तो खाले अलोकतान्त्रिक चरित्रको अहिले भन्दा पनि आउँदा दिनमा अझ बढी चर्चा हुने नै छ ।  कांग्रेसले जे गरे पनि त्यो लोकतान्त्रिक चरित्र हो भनेर मान्नै पर्ने हो भने बेग्लै कुरा, नत्र कांग्रेसले प्रचण्डको नेतृत्वमा बनेको सरकारलाई विश्वासको मत दिनु र संवैधानिक अङ्गमा भाग खोज्नु जस्तो अलोकतान्त्रिक चरित्र अर्को के हुन सक्छ ? संसद्मा पहिलो दल बनेको कांग्रेसले यस्तो खेल खेल्न मिल्छ ?  एकातिर सरकारलाई विश्वासको मत दिएर सरकारसँग संवैधानिक अङ्गमा भाग खोज्ने र अर्कोतिर कांग्रेस पार्टी नै संसद्को प्रतिपक्ष पार्टी हो भनेर जिद्दी गर्न कांग्रेसलाई अलिकति पनि लाज लाग्दैन?  कसैले कांग्रेसलाई तिमीहरू सत्ता पक्ष हो कि प्रतिपक्ष हो भनेर सोध्यो भने कांग्रेसले के भनेर जवाफ दिने ? कि आधा सत्ता पक्ष र आधा प्रतिपक्ष भनेर जवाफ दिने ? संसद्मा प्रतिपक्षको सुविधा पनि खोज्ने सरकारमा भाग पनि माग्ने के यो दोहोरो चरित्र भएन र ? लोकतन्त्रको नाममा कांग्रेसले जस्तो भूमिका निभाउन पनि मिल्छ ?

जसरी पनि सत्तामा जाने मनोरोगबाट कांग्रेस ग्रस्त छ । देउवाले सत्ता बाहेक केही अरू सोचेका छैनन् । सत्तामा पुग्नका लागि देउवाले हुने, नहुने खेल खेल्दै आएका छन् । सत्ता विना टिक्नै नसक्ने कांग्रेसको आशक्तिका कारण जनताबाट त कांग्रेस टाढा हुँदै गएको छ ।   कांग्रेसको यस्तो खेलका कारण मुलुकमा अस्थिरताको माहौल सृजना भएको छ ।  कांग्रेस देशलाई अस्थिर ।राजनीतिको खेल मैदान बनाउन चाहने हो ? देशमा देखिन थालेको अस्थिर राजनीतिको छायाले जनतामा  राजनीतिक पार्टीहरू प्रति निराशा छाउन थालेको छ । जनता लागि भन्दा पनि राजनीतिक पार्टीहरू केबल सत्ताका लागि मात्रै राजनीति गरिरहेको सन्देश आम जनतामा जान थालेको छ । कांग्रेसले प्रचण्डको नेतृत्वमा बनेको सरकारलाई किन विश्वासको मत दिन आवश्यक प¥यो । यसको चित्त बुझ्दो जवाफ कांग्रेसको नेतृत्वसँग छ? बहुमतमा रहेको सरकारलाई संसद्मा सबै भन्दा ठूलो दलले विश्वासको मत दिएको घटना शायदै अन्य मुलुकमा पनि होला ?

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ७ : ३६ बजे