यस्तो छ आजको विनिमय दर

तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा

चितवन । नेपाल एथलेटिक्स सङ्घ तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता आगामी फागुन ११ देखि १३ गतेसम्म माडीको वसन्तपुर खेलमैदानमा हुने भएको छ । 

प्रतियोगितामा सातै प्रदेशबाट एक सय ३५ महिला र पुरुष खेलाडी सहभागी हुने चितवन एथलेटिक्स सङ्घका अध्यक्ष मानबहादुर रजाली मगरले जानकारी दिनुभयो । 

प्रतियोगितामा एक प्रदेशबाट हरेक विधामा दुई खेलाडी सहभागी हुन पाउनेछन् । खेलाडीले २६ विधामा प्रतिस्पर्धा गर्ने छन् । २६ स्वर्ण, २६ रजत र २६ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो । 

प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच हजार, द्वितीय हुनेलाई रु तीन हजार र तृतीय हुनेलाई रु दुई हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिता विश्व एथलेटिक्सको नियममा रहेर प्रतियोगिता सञ्चालन गरिने छ । ग्रामीण स्तरमा प्रतियोगिता गरी खेलाडी उत्पादन गर्ने, खेललाई पर्यटन र विकाससँग जोड्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । 

प्रतियोगिता सम्पन्न गर्न रु २७ लाख दुई हजार सात सय २० लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । 

प्रतियोगितामा जुनियर राष्ट्रिय कीर्तिमानी खेलाडीलाई नगद रु सात हजारसहित सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा एक–एक जना उत्कृष्ट महिला पुरुष खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ । रासस

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  १० : ३० बजे