सडक यातायात क्रमशः सहजतातर्फ

किसानका मागप्रति गम्भीर हुन आग्रह

काठमाडौँ – अखिल नेपाल किसान महासङ्घ र नेपाल किसान महासङ्घले सडकमै तरकारी फाल्नुपर्ने अवस्थामा पुगेका किसानका मागप्रति गम्भीर हुन सरकारसँग आग्रह गरेका छन् । 

दुवै महासङ्घले आज यहाँ संयुक्त पत्रकार सम्मेलन गरी चितवनमा भएको उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तरकारी सडकमा फ्याँकेर सुरु गरेको सङ्केतिक आन्दोलनप्रति ऐक्यबद्धता पनि जनाएको छ ।

तरकारीलगायत कृषि तथा कृषिजन्य उत्पादन खासगरी छिमेकी देश भारतलगायतका मुलुकबाट आयात भइरहेका कारण नेपाली किसान निरन्तर मारमा पर्दै आएको नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य निशा श्रेष्ठले बताउनुभयो । किसानले लागत मूल्यसमेत पाउन नसकेको उल्लेख गर्दै उहाँले किसान सडकमा तरकारी नष्ट गर्न बाध्य हुनु दुःखद् भएको बताउनुभयो । 

खेतीको समयमा मल, बिउ नपाउने, सिँचाइको अभाव, सहुलियत दरको कर्जा, बीमा, प्रविधि र प्राविधिक सेवा नपाउने र उत्पादनपछि सोको मूल्यसमेत नपाउनेजस्ता समस्याबाट थलिएको उनीहरुको भनाइ छ ।  

“केही समयअघि बर्डफ्लुका कारण पन्क्षीपालक किसानले ठूलो क्षति बेहोर्नुप¥यो, तर किसानले राहत तथा क्षतिपूर्ति पाएका छैनन्, गत वर्ष परेको बेमौसमी वर्षाले पारेको क्षतिपछि किसानले अहिलेसम्म पनि राहत पाउन सकेका छैनन्”, जारी विज्ञप्तिमा उल्लेख छ ।

 अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले तरकारीको समर्थन मूल्य तोकी खरिद सुनिश्चितता गर्ने र आन्दोलनरत किसानका माग पूरा गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ । उहाँले पत्रकार सम्मेलनमा किसानको हकहित, अधिकार र कृषि विकाससँग सम्बन्धित माग पूरा गराउन पनि सरकारसँग माग गर्नुभएको छ । 
 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ९ : ४८ बजे