आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राष्ट्रिय स्वतन्त्र पार्टीको अल्टिमेटम आज सकिँदै, के गर्नुहोला प्रधानमन्त्री ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको अल्टिमेटमा आज सकिँदै छ । 

गृह मन्त्रालय आफ्नो पार्टीलाई पुनः दिनका लागि प्रधानमन्त्री प्रचण्डले आनाकानी गरेपछि सरकारमा बस्ने या नबस्ने भन्ने बारेमा रास्वपाको बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनसम्म प्रतीक्षा गर्ने निर्णय गरेको थियो । 

प्रधानमन्त्री प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रास्वपाका सभापति रवि लामिछानेको फोन वार्ता सकारात्मक भएपछि अन्ततः दुई दिन कुर्ने निर्णय गरिएको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिनुभएको थियो । 

सर्वोच्च अदालतले १३ माघमा लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्रलाई अवैध ठहर गर्दै उहाँको मन्त्री र सांसदबाट पदमुक्त गरेको थियो ।

यसपछि, १५ माघमा जिल्ला प्रशासन कार्यालयमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएर लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्रलाई ब्युँताउनुभयो। यसपछि उहाँले पुनः आफूलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ दलका शीर्ष नेताहरूसँग लबिङ गर्नुभयो । 

प्रमुख सत्ता साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओली लामिछानेलाई गृहमन्त्री बनाउन सकारात्मक देखिनुभए पनि प्रधानमन्त्री प्रचण्डले अस्वीकार गर्नुभयो। जस कारण रास्वपाले गत बिहीबार दुई दिने अल्टिमेटम दिँदै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको हो । उक्त अल्टिमेटम आज सकिँदै छ । 

यता लामिछानेको नेपाली नागरिकता अवैध ठहर गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउन्जेल फर्कन आग्रह गरेका प्रधानमन्त्री प्रचण्डले रास्वपाको मागबारे कुनै निर्णय गरिसकेका छैनन् । 

प्रधानमन्त्री प्रचण्ड रास्वपालाई गृह मन्त्रालय दिन अस्वीकार गरेर पार्टीको बैठक बसेर सरकारमा रहने या नरहने निर्णय गरिने रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ८ : ०६ बजे