विवरण उपलब्ध नगराउने १० बीमा कम्पनीलाई प्राधिकरणको चेतावनी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले १० वटा बीमा कम्पनीलाई चेतावनी दिएको छ । प्राधिकरणले समयमा नै विवरण उपलब्ध नगराएका तीनवटा जीवन बीमा कम्पनी, ६ वटा निर्जीवन बीमा कम्पनी र एक वटा पुनर्बीमा कम्पनी गरी १० वटा कम्पनीलाई बुधबार पत्रचार गर्दै समयमा विवरण बुझाउन प्राधिकरणले चेतावनी दिएको हो ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिका २०७५ बमोजिम चौमासिक रुपमा विवरण उपलब्ध नगराएका १० कम्पनीलाई चेतावनी दिइएको प्राधिकरणले जनाएकाे छ ।

समयमा विवरण नबुझाउनेमा जीवन बीमातर्फका गुराँस लाइफ, रिलायबल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, निर्जीवन बीमातर्फबाट राष्ट्रिय बीमा कम्पनी, युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स रहेका छन् भने पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले आफ्नो कारोबारको चौमासिक विवरण बुझाएका छैनन् ।

प्राधिकरणले पहिलो पटक यी १० कम्पनीलाई पत्राचार गर्दै चेतावनी दिइएको र पटक पटक दोहोरिएमा १० लाख नगद जरिवाना समेत हुन सक्ने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ४ : ११ बजे