माझण्डहरूको सत्ता मोहले कचल्टिएको राजनीति

फागुन २३, २०७७ को सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बेग्ला–बेग्लै अस्तित्वमा देखिने भएपछि धेरैको अनुमान थियो, माधव झलनाथ प्रचण्ड (माझण्ड) बाट विभक्त भएर माधवं झलनाथ (माझ) एकातिर प्रचण्ड अर्कोतिर हुने छैनन् । पुष ५, २०७७ पछिको राजनीतिक समिकरणका हिसाबले प्रचण्डसँगै रहनेछन् । तर त्यस्तो भएन किनभने पदको लोभ र सूर्य चिन्हप्रतिको मोहले माझहरू समझदारी मै नेकपा (एमाले) हौं भनेर फर्किएतापनि घटनाक्रमले त्यो समझदारी एमाले विभाजन गर्नमा केन्द्रीत रहेछभनेर पुष्टी हुँदैछ ।

माझण्डहरू सूर्य चिन्ह आफ्नो पक्षमा पार्न पुष ५ गतेदेखि नै प्रयासरत थिए । त्यो प्रयास निर्वाचन आयोगले गरेको विलम्ब र सर्वोच्च अदालतको फागुन २३ को फैसलाले असफल बनाएपछि उनीहरूमा छटपटीमात्र बढेन राजनीतिक रूपमा कमजोर पनि भए । त्यो कमजोरी ढाकछोप गर्न हिजोआज माझहरू प्रक्रिया मिलेन भन्दै विधि र नीतिको खास्टो ओढेर कार्यकर्ताको मनलाई भ्रमित पार्ने झेलपूर्ण खेल खेल्न खोज्दैछन् ।

पेरिस डाँडा छोडेर धुमबाराहीतिर फर्कनु पर्दा माझहरूलाई असजिलोमात्र भएको थिएन, पिडा पनि भएको थियो । त्यही पिडा भावनात्मक रूपमा प्रचण्डले बुटवल र सिन्धुली पुगेर व्यक्त गरिसकेका छनभने गुट भेला गरेर माझहरूले आत्मसन्तुष्टी लिदैछन् । तर प्रचण्डका अभिव्यक्तिहरूलाई औपचारिक रूपमा माझ गुटले खण्डन पनि गरेको छैन । म प्रचार प्रमुख हुँभन्ने योगेश भट्टराईले प्रचण्डको अभिव्यक्तिहरूलाई खण्डन नै नगरी २०५४ मा जस्तै विग्रहको भूमिका निभाउन व्यस्त छन् । प्रचण्डका अनुसार सके माझहरूले वैधानिक रूपमा एमाले कब्जा गर्ने नसके कम्तीमा चालिस प्रतिशत पुर्याएर पार्टी टु्क्रयाउने रणनीतिलाई केपी ओलीले सफल हुन नदिने भएपछि माझहरू छटपटिएका छन ।

पुष ५ को संसद विघटन गर्ने निर्णयदेखि फागुन २८ को २३ केन्द्रीय सदस्यहरू थप्ने निर्णयले प्रचण्डको रणनीतिमात्र असफल भएन, माधव नेपालको कुण्ठाग्रस्त अनुहार पनि चिनाई दियो । संकटमा जोखिम मोलेर साथ दिनेहरूलाई सम्मानपूर्ण भित्र्याउने र हिजो बाटो बिराएर आज घर फर्कनेहरूलाई सुनपानी छर्केर सम्मान दिनु घरमूलीको जिम्मेवारी हो भन्दै गर्दा पनि गल्ती गर्नेलाई आफ्नो कमजोरी महसुस गराउनु पनि पर्दछ । यी दुबै जिम्मेवारी पूरा गर्ने ठाउँमा अहिले केपी ओली छन् । जसलाई माझहरूले पचाउन सकेका छैनन् । प्रचण्ड त घाईते नै भएका छन् ।

प्रधानमन्त्री केपी ओलीका विरूद्धमा राजनीतिक मोर्चा बनाउन प्रयासरत प्रचण्ड नैतिकताका आधारमा प्रमले राजिनामा दिनुपर्छ त भन्छन् तर सरकारलाई दिएको समर्थन फिर्ता पनि लिदैनन् । प्रचण्डले अपेक्षा गरेजस्तो न प्रमबाट ओलीलाई हटाउन मोर्चा बन्न सक्यो नत नेकपा (एमाले) भित्र माझहरू बलशाली देखिए । जसले गर्दा विपक्षीहरू खासगरी नेका सभापति शेरबहादुर देउवा प्रचण्डलाई शंकाको दृष्टिकोणले हेरिरहेका छन् । यहि मौकालाई प्रम ओलीले सदुपयोग गरेर पार्टी र सरकारमा आफ्नो प्रभाव बढाउन सफल भइरहेका छन ।

उपयोगितावाद मूक्त कम्न्युनिष्ट आन्दोलन, कुण्ठा मूक्त नेकपा (एमाले) र बाह्य हस्तक्षेप मूक्त नेपालको राजनीति बनाउन केही बैगुनका बावजुद पनि केपी ओलीलाई पार्टी र राज्य सत्ताको नेतृत्वमा कायम गर्नैपर्ने भएको छ । हस्तक्षेप दक्षिण –पश्चिमको होस् कि उत्तरको ति सबैका विरूद्ध डटेर सामना गर्ने क्षमता समकालिन नेतृत्वमध्ये केपी ओलीमा नै बढी देखियो । यदि केपी ओलीले छलफलको दायरा बढाउने र अलि बढी लचकता अपनाउने होभने भोलिका दिनमा विपक्षीहरू एकजुट भएतापनि सूर्यवालाहरूलाई पराजित गर्न कठिन छ । यही सूर्य चिन्ह कब्जा गर्ने रणनीतिका साथ पेरिस डाँडाबाट माझण्डहरू दुई समुहमा विभाजित भएको थियो । यो रणनीतिलाई असफल बनाउन नसकेको भए सम्वृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षा संकटमा पर्ने थियो । त्यसैले एकिकृत कम्न्युनिष्ट आन्दोलनमार्फत राष्ट्रिय आकांक्षा पूरा गर्न नेकपा (एमाले) अझ बलियो, सुदृढ र एकताबद्ध हुनैपर्छ।

माझहरू जुन खालको अभिव्यक्ति दिदैछन् र गतिविधि गर्दैछन्, त्यसले उनीहरू नेकपा (एमाले) विभाजनको वैधानिक र सहज उपायहरू खोजिरहेको स्पष्ट हुन्छ । पार्टीलाई एकिकृत र बलियो बनाउने चाहाना नै हुन्थ्योभने उनीहरूले भविष्य हेरेर वर्तामानमा क्रियाशील हुन्थे र कार्यकर्ता भेलाको नाममा विभाजनको आधार खोज्ने थिएनन् । जननेता मदन कुमार भण्डारीले भने जस्तै “पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन ।” भन्ने कुरालाई आत्मसाथ गरेर विगतका कमिकमोरीमा अलमलिएर गन्तव्यमा पुग्न र भविष्य सुन्दर बनाउन सकिदैन भन्ने मान्यतालाई मनन गरेर संस्थापन पक्षले पनि माझहरूलाई बिच्क्याउने ढंगले निर्णय गर्नेभन्दा पनि फेस सेभिङ गरि दिएर सम्मानपूर्वक घरमा भित्र्याउनु पर्दछ । माझहरू हिनताबोधका साथ षडयन्त्रपूर्ण  रणनीति बोकेर एमाले बनेर फर्किदा संस्थापनले त्यसलाई स्वभाविक ठान्न सकेन । किनभने सुचनाहरू पनि त्यस्तै थिए ।

अविश्वासको प्रस्तावका विरूद्धमा मतदान हुने वा विश्वासको मत लिने अवस्थामा माझ पक्षका कम्तीमा दुई दर्जन सांसदहरूले फ्लोर क्रस गर्ने र प्रधानमन्त्रीलाई पदबाट हटाउने योजनाका साथ उनीहरू एमालेमा फर्किएको अनि यदि नेकपा (एमाले) को संसदीय दलले फ्लोर क्रस गर्नेहरूलाई सांसद पदबाट हटाउने निर्णय गरी पठाएमा सभामुखले विलम्ब गर्ने सुचनाको जगमा नेकपा (एमाले) भित्र फागुन २८ को निर्णय भएको भनिन्छ । आफ्ना गोप्य योजनाहरू केपी ओलीले थाहा पाएपछि आत्तिएका माझहरू एकपछि अर्को गल्ती गर्दैछन्।

माझहरूले बुझनुपर्थ्यो, “एकअर्कोबाट छुट्टिएर खुसी मिल्ने भए रूखहरूबाट खसेका पातहरू कहिल्यै ओइल्याउने थिएनन्।” जनताको बहुदलीय जनवादलाई विवादित र विभाजित बनाएर जननेता मदन भण्डारीप्रति सम्मान हुने पनि होइन। तर दुर्भाग्य नै भन्नुपर्छ, त्यो खालको चेत माझहरू पटक्कै आएन । खासगरी माधव कुमार नेपालको कुण्ठाका कारणले उपयोगितावादको मनोबलमात्र बढेन, नेपालको कम्न्युनिष्ट आन्दोलन बदनाम बनाएर कमजोर बनाउने खेल  पनि भइरह्यो । जुन दक्षिण–पश्चिमको मुख्य लक्ष्य नै थियो।

प्रम केपी ओलीलाई सत्ताबाट हटाउने प्रयासबमोजिम प्रयोग भएका रणनीतिहरू एकपछि अर्को गरेर असफल बन्दा ओलीका विरोधीहरू आत्तिएका छन्। दिनरात छलफल र भेटघाटमा व्यस्त छन्। त्यसैले प्रमलाई दिएको समर्थन फिर्ता लिन उपयोगितावादले कु्ण्ठाको कति शक्ति हुन्छभनेर पर्खिएर बसेको छ। फेरि दक्षिणपन्थीहरूले पनि नेकपा (एमाले) भित्रको राजनीति कस्तो हुन्छ भनेर कुर्दा प्रमका विरूद्धमा अविश्वास प्रस्ताव ल्याउन सकिरहेका छैनन्। राजनैतिक तथा संवैधानिक व्यवस्था आफूले भनेबमोजिम नै भएतापनि राजनीतिक दलहरूमा अझै पनि विद्रोहको चेत हावी हुँदा राजनीतिक परिस्थिति अस्वभाविक रूपमा जटिल बन्यो।

“राज्य सत्ताका विरूद्धको चेतनाबाट हुर्किएको राजनीतिक पुस्ताले २०६२र६३ को जनआन्दोलनपछि राज्य सत्ता आफ्नै नेतृत्वमा आईपुग्दा पनि विद्रोहको मनस्थितिबाट बाहिर निस्कन नसक्दा देशको परिस्थिति अस्थिर बनिरह्यो। यसको मुख्य कारण शिक्षा तथा सामाजिक, न्यायिक र प्रशासनिक व्यवस्थाले पुरानो राज्य सत्ताको लक्ष्य बोकी रह्यो ।” अनि त मुख्य नेतृत्वदेखि आमजनसाधारणमा विद्रोही चेत विकास भइरह्यो । जबकी २०६२–६३ पछिको राजनीति रचनात्मक र सकारात्मक भएर नयाँ पुस्तालाई पनि रचनात्मक र सकारात्मक बन्न प्रेरित गर्नु पर्थ्यो ।

अहिले केपी ओलीका विरूद्ध माझण्ड समुह बन्नेदेखि लिएर विपक्षीहरूको संयुक्त मोर्चा बन्ने बनाउने प्रयासहरू जे भइरहेको छ, यसका पछाडि पार्टी र राज्य सत्तामा को पुग्ने र पुर्याउने भन्ने रणनीतिले काम गरेको छ । नेकपाभित्रको माझण्ड समुह बन्ने होस् कि नेकपा (एमाले) भित्र माझ समुह, दुवैको साझा रणनीति केपी ओलीलाई पार्टी र राज्य सत्ताबाट हटाउनु नै हो । त्यसैले नेकाभित्रबाट पनि माझहरूलाई विद्रोह गरेर आउनुहोस्, प्रधानमन्त्री बनाउँछौं भनेर सन्देश दिएका छन् । प्रचण्डको माझप्रति प्रेम होस कि नेकाको माधव नेपालप्रतिको सदासयताको मुख्य लक्ष्य केपी ओली अर्थात नेकपा (एमाले) लाई कमजोर बनाउने नै हो नकि माझहरूलाई बलियो बनाउने । यति सामान्य यथार्थ पनि नबुझेर योगेशहरू केपी ओलीका विरूद्ध विष वमन गर्दै दक्षिणपन्थीहरूको मनोबल बढाउने काम गर्दैछन्, किन ?

नेकपा (एमाले) मा विभाजन ल्याउन भइरहेका प्रयासहरू बिस्तारै सार्वजनिक हुँदै जाँदा विद्रोहको पक्षमा लागेका नेता तथा कार्यकर्ताहरू मूल घर फर्कन थालेका छन। रात रहे औराख पलाउँछभने जस्तै नेकपा (एमाले) को संस्थापन पक्ष अझ बलियो र एकिकृत हुने संकेत पनि देखिएको छ । यसले माझहरू खासगरी माधव कुमार नेपाल संकटमा पर्ने लक्षण देखिदैछ । अब योगेश,घनश्याम,गोकर्णहरू राजनीतिक आत्महत्याको बाटो रोजछन् कि संस्थापन पक्षमा लागेर पार्टीलाई बलियो बनाउँदै आफ्नो राजनीति जोगाउँछन् ? समयले उत्तर खोजेको छ।

नेतालाई सम्मान
जनतालाई कमान गर्ने
राजनीति होइन।१।
देशलाई समस्या
जनतालाई पिडा दिने
राजनीति होइन।२।
भ्रमहरू बाँड्ने
एकता भाँड्ने काम
राजनीति होइन।३।
परचक्रीको सेवा
घरमा धावा बोल्ने
राजनीति होइन।४।
जनतालाई रूवाउने
माफिया पोस्ने खेल
राजनीति होइन।५।
कुण्ठा बोकेर
उपयोगितावादलाई पुज्ने
राजनीति होइन।६।
हिंसाको भाषा
पदको अभिलाषा बोक्ने
राजनीति होइन।७।

जननेता मदन भण्डारीले भनेका थिए, “हामीले देश, काल र परिस्थितिअनुरूप स्थापित मुल्यमान्यताहरू बदलिन्छन् र परिमार्जन हुन्छन् भन्ने मान्यताका आधारमा नेपाली समाजको विशेषतालाई अघि बढाउन सक्नुपर्छ।” आजको विषम परिस्थितिमा जननेता भण्डारीका विचारलाई आत्मसाथ गरेर कम्न्युनिष्ट आन्दोलन र राष्ट्रिय राजनीतिलाई अघि बढाउनु पर्छ। जसले राष्ट्रिय आकांक्षा “सम्वृद्ध नेपाल सुखी नेपाली” को नारा पूरा गर्न सकारात्मक सहयोग गर्न सक्छ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ७ : ०७ बजे