कार र ट्याक्सी आपसमा ठोक्किँदा ग्वार्कोमा दुई जनाको मृत्यु, ६ घाइते 

ललितपुर । ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

ग्वार्कोस्थित बि एण्ड बि अस्पताल नजिकै आइतबार राति कार र ट्याक्सी आपसमा ठोक्किँदा घाइते भएका आठ जनामध्ये दुई जनाको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार दुई जना गरी आठ जना घाइते भएका थिए । तर, ट्याक्सीमा सवार सुनसरीका सरोज कुमार विक र कारमा सवार मोरङका धनबहादुर बस्नेतको उपचारको क्रममा बि एण्ड बि अस्पताल मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

बाँकी घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये कार चालक झापाको बिर्तामोडका ३५ वर्षीय वीरबहादुर विकको अवस्था भने गम्भीर छ । 

ग्वार्कोबाट सातदोबाटोतर्फ आउँदै गरेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशाबाट जाँदै गरेको बा ४ च १ नम्बरको कार आइतबार मध्यराति साढे १२ बजे आपसमा ठोकिएको थियो । 

कार चालक विकले मदिरा पिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १० : ५७ बजे