यस्तो छ आजको विनिमय दर

क्यानका सदस्यहरूले मागे कार्यसम्पादन समितिको राजीनामा

काठमाडौं । नेपाल टी– २० लिगमा स्पट फिक्सिङ भएको भन्दै नेपाल क्रिकेट संघ (क्यान) का सात जना सदस्यहरूले कार्य सम्पादन समितिको राजीनामा माग गरेका छन् । 

संघका सदस्यहरूले संयुक्त विज्ञप्ति जारी गरी नेपाल क्रिकेट संघ –क्यान) ले नेपाल टी–२० लिगका लागि स्ट्राटेजिक एन्ड कमर्सियल पार्टनर एन्ड एड्भाइजर राइट्स (रणनीतिक र व्यावसायिक साझेदार र सल्लाहकार अधिकार) रूपमा भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्ससँग आठ वर्षको सम्झौता गर्ने बेलादेखि नै आफूहरूले प्रश्न उठाएको बताउनुभएको छ ।

भारतीय कम्पनीको पृष्ठभूमि शंकास्पद देखिएको तथा सम्झौता गर्नुअघि ग्लोबल टेन्डरमार्फत गर्नु पर्नेमा त्यसो नगरिएको उहाँहरुको भनाइ छ । जसका कारण लिगको विषयमा पटक पटक नोट अफ डिसेन्ट समेत लेखेको उहाँहरूले स्मरण गराउनुभएको छ । उक्त सम्झौता खेलकुद विकास ऐन २०७७ विपरीत भएको क्यान नेतृत्वलाई बारम्बार सचेत गराएको उहाँहरूले प्रेस विज्ञप्ति  मार्फत जानकारी गराउनुभएको छ । ‘आज आएर राष्ट्रिय खेलकुद परिषद्को कार्यदलले सम्झौता ऐन विपरीत भएको ठहर गरिसकेको छ’, विज्ञप्तिमा लेखिएको छ । 

नेतृत्वले जबरजस्ती भारतीय कम्पनीसँगको सम्झौता बोर्ड बैठक तथा साधारण सभाबाट अनुमोदन गरेको उहाँहरुको आरोप छ । भारतीय कम्पनीको शंकास्पद पृष्ठभूमि र उसको नियतमाथि हामीले जुन आशङ्का गरिएको थियो  आज सो आशङ्का सही साबित भएको उहाँहरूले बताउनुभएको छ ।

टी–२० लिगको आयोजनाको सम्पूर्ण जिम्मेवारी लिएको भारतीय कम्पनीका प्रमुख जतिन अहलुवालिया लिग चल्दै गर्दा नेपाल छाडेर भारत भागेको उहाँहरूले बताउनुभएको छ । ‘खेलाडीले समयमै पारिश्रमिक पाउन सकेनन्, अर्को स्तब्धपूर्ण कुरा लिगका दौरान स्पट फिक्सिङ भएको आशङ्का गरियो, अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लिगमा स्पट फिक्सिङ्ग भएको तथ्य सार्वजनिक गरेको छ’, विज्ञप्तिमा लेखिएको छ । 

क्यानसँग सम्झौता गरेको कम्पनीकै प्रमुखको स्पट फिक्सिङ्गमा संलग्नता हुन दुःखद पक्ष भएको उहाँहरूले बताउनुभएको छ । साझेदार कम्पनी नै फिक्सिङमा संलग्न हुनुको मुख्य दोष क्यान नेतृत्व भएको उहाँहरुको ठहर छ । ‘त्यसमा पनि महत्त्वपूर्ण निर्णय गर्ने क्यानको कार्यसम्पादन समिति नै प्रमुख दोषी हो’, जारी विज्ञप्तिमा उल्लेख छ ।  

गत बिहीबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल र कोषाध्यक्ष रोशन सिंहले पत्रकार सम्मेलन गर्दै नेपाल टी -२० लिग सञ्चलनमा गल्ती भएको स्वीकार गर्नु भएको उहाँहरूले स्मरण गराउनुभएको छ । ‘हामीले हिजो गल्ती हुन सक्छ भन्दै सचेत गराएका थियौँ, आज आएर उहाँले त्यो गल्ती स्वीकार गर्नु भएको छ, त्यसैले उहाँहरूले जानाजान गल्ती गर्नु भएको हो, हामीले पटक पटक सचेत गराएका थियौँ, तर उहाँहरूले जबरजस्ती निर्णय गर्नु भयो, यसले नेपाल क्रिकेट मानमर्दन भएको छ’, संयुक्त विज्ञप्तिमा लेखिएको छ । 

पटक पटक सचेत गराउँदाका बाबजुद त्यही कम्पनीलाई नेपाली क्रिकेट सुम्पिने हठ गर्ने नेतृत्व अहिले आएर माफी मागेको भरमा पन्छिन नमिल्ने उहाँहरुको भनाइ छ । सरोकारवाला निकायलाई पनि नेपाली क्रिकेटलाई बेटिङ्ग र फिक्सिङ्गको उर्वर भूमिका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा बदनाम गराउनेहरूलाई उन्मुक्ति दिन छुट नरहेको उहाँहरुको भनाइ छ ।  

क्यान नेतृत्वले जानाजान गरेको गल्तीले नेपाली खेलाडी प्रहरी नियन्त्रणमा हतकडी सहित देखिनु अर्को दुखद पक्ष भएको उहाँहरुको भनाइ छ ।  यस्तो अवस्थामा कार्य सम्पादन समितिले राजीनामा गर्नुपर्ने उहाँहरुको माग छ ।  ‘कार्यसम्पादन समितिमा रहेका चतुरबहादुर चन्द, प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनु पर्छ । हामी केन्द्रीय सदस्यहरू उहाँहरुको राजीनामा जोडदार रूपमा माग गर्दछौँ’, विज्ञप्तिमा लेखिएको छ । 

उहाँहरूले नेपाल क्रिकेट सङ्घलाई होइन कार्यसम्पादन समितिमा रहेका पाँच जनालाई निलम्बन गरी कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । यस्तै नेपाल टी २० लिगको गभर्निङ काउन्सिलका संयोजक प्रशान्त विक्रम मल्ल, सदस्यहरू दुर्गाराज पाठक, भानुभक्त सिग्देल, अशोक मल्होत्रा र सेभेन थ्रीका जतिन अहलुवालिया पनि दोषी भएको उहाँहरुको  ठम्याइ छ । त्यसैले गभर्निङ काउन्सिल पनि कारबाहीको दायरामा आउनु उहाँहरुको माग छ ।  

विज्ञप्तिमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले हस्ताक्षर गर्नुभएको छ । 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ४ : १४ बजे