सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी

वालिङ । यस वर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल हुनुभएको छ ।

स्याङ्जाको पुतली बजार नगरपालिका–१० राङखोलाका  किसान मुक्ति अधिकारीले उक्त आम्दानी गर्नुभएको हो । 

सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी रु ८९ मा बिक्री भइरहेको सुन्तला उहाँले बताउनुभयो । “बगैँचामा रहेको सुन्तला आफैँ टिप्ने र ठेकेदारलाई बजार मूल्यअनुसार रु ५५ देखि ८९ प्रतिकेजीका दरले बिक्री गरेको हुँ”, उहाँले भन्नुभयो, “यसबाट हालसम्म करिब रु ४२ लाखको सुन्तला बिक्री गरिसकेको छु ।”

सुन्तला टिप्ने क्रम जारी रहेको र अझै रु तीन लाख जतिको सुन्तला बोटमै रहेको उहाँले बताउनुभयो । गत वर्ष यही समय ९माघको दोस्रो साता० मा प्रतिकेजी १०२ देखि १०४ रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो । गत वर्षभन्दा यस वर्ष सुन्तला अधिक उत्पादन भएकाले पनि अपेक्षाअनुसार बजार मूल्य नपाइएको हुन सक्ने उहाँले बताउनुभयो ।

“गत वर्षका तुलनामा यस वर्ष सुन्तला धेरै फल्यो तर मूल्य बढेन”, उहाँले भन्नुभयो, “केही समयपछि बिक्री गर्दा राम्रो मूल्य पाइन्छ भन्ने आसले शीत भण्डारमा सुन्तला भण्डारण गरे तर कुहियो, उल्टै घाटा लाग्यो ।” उहाँले स्याङ्जा शीत भण्डारमा छ सय १७ क्यारेट सुन्तला भण्डारण गर्नुभएको थियो । जसमध्ये ३९० क्यारेन्ट सुन्तला कुहिँदा झन्डै रु सात लाख नोक्सान भएको उहाँ बताउनुहुन्छ ।

“हालसम्म सुन्तला बिक्रीबाट रु ४२ लाख आम्दानी गरे, अझै तीन लाख जति आम्दानी हुन बाँकी नै छ”, उहाँले भन्नुभयो, “शीत भण्डारमा राखेकोमध्ये ठुलो परिमाणमा सुन्तला कुहिएको छ, नकुहिएको भए त आम्दानी झन्डै रु ५५ लाख आसपास पुग्थ्यो ।”

विसं २०३२देखि तेजनारायण अधिकारीसहित अन्य चार जनाले स्याङ्जामा व्यावसायिक सुन्तला खेतीको सुरुआत गरेका जनाइएको छ  । “बुवाले लगाउनुभएको पाँच सय बोटलाई बिस्तार गरी मैले विसं २०६९बाट संरक्षण गर्दै थप्दै गएँ”, किसान मुक्तिले भन्नुभयो, “अहिले मसँग दुई हजार दुई सय बोट सुन्तला छन्, तर सबै फलिसकेका छैन, सबैमा फल लाग्दा त करोडमाथि आम्दानी हुन्छ ।” चौध वर्ष कोरियामा रोजगारी गर्नुभएका उहाँले अहिले सुन्तलाको संरक्षण र बगैँचा विस्तारमा ध्यान दिनुभएको छ । ‘अधिकारी कृषि फर्म’ दर्ता गरी व्यावसायिक रूपमा सुन्तला खेती गर्नुभएका उहाँको हाल एक सय ६० रोपनी क्षेत्रफलमा दुई हजार २०० सुन्तलाका बोट छन् ।उहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको सञ्चालक समितिको सचिव हुनुहुन्थ्यो ।रासस

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : ४५ बजे