खोटाङ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत अपचलनमा मुछिएका तत्कालीन अध्यक्ष अनिल जोशी एवं उनका परिवार विरुद्ध रकम अपचलन र ठगी कसुरमा मुद्दा चलाउने वा असुलउपरको प्रक्रिया गर्न निर्देशन दिएको छ ।
सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षणका क्रममा जोशी र उनको परिवारको नाममा कायम देखिएको ८ करोड ४६ लाख ८९ हजार ६७८ थैलो कायम गरी रकम अपचलन र ठगी कसुरमा मुद्दा चलाउन वा असुलउपरको प्रक्रिया अपनाउन सञ्चालक समितिलाई निर्देशन दिएको हो ।
लेखा परीक्षणका क्रममा जोशी र उनका परिवारका नाममा देखिएको नौ करोड ११ लाख १७ हजार ६७८ रुपैयाँमध्ये सहकारी बैङ्कले धितो लिलाम गरेर आफ्नो ८० लाख असुलउपर गरेको थियो ।
यस्तै पछिल्लो हिसाबका क्रममा जोशी र उनको परिवारका नाममा थप १५ लाख ७२ हजार रकम भेटिएको सञ्चालक समितिले जनाएको छ । यद्यपि जोशीको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ ।
गत पुस २३ गतेदेखि पुस २९ गतेसम्म अनुगमन तथा छानबिन गरेको सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सहकारीको सबै ऋणीबाट हिनामिना तथा बेरुजु रकम असुलउपर गर्न सबै खालका कारबाहीका प्रक्रिया अपनाउन सुझाव दिएको छ ।
वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ २०७२ मङ्सिर १० गतेदेखि दिक्तेल बजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो ।
जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । उनको निधनपछि निक्षेपकर्ताहरू निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्ने क्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो । सहकारीका तत्कालीन अध्यक्ष जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता आन्दोलनमा छन् ।
सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सबै सञ्चालकहरूले साबिकमा भएको हिनामिना तथा बेरुजु असुलउपरका लागि कारबाहीका सबै प्रक्रिया गर्ने, स्थानीय पालिका र प्रशासनसँगको पहलमा पुरानो नउठेको ऋण असुलउपर गर्ने वा मालपोत कार्यालयमा रोक्का राख्ने प्रक्रिया गर्न, हिनामिनाको रकम रोक्का राखेको जग्गा बेचबिखनमा लैजाने लगायतका १६ बुँदे निर्देशन पठाएको छ ।
निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले जारी गरेको निर्देशनमा ऋण लगानी सुरक्षित गर्न विना धितो ऋण असुल उपर वा धितो रोक्का राख्ने व्यवस्था गर्न, रोक्का राखेको धितोबाट असुलउपरको प्रक्रिया अघि बढाउन, आवश्यक परे हिनामिनाको मस्यौटमा दोषी भएकाहरू उपर सम्बन्धित अदालतमा मुद्दा दायरसम्म गर्न, सम्बन्धित मालपोत कार्यालयलाई पत्राचार गरी धितो रोक्का वा सञ्चालक, कर्मचारीको जायजेथा रोक्का गर्न, पुरानो सञ्चालक समिति, लेखा समिति तथा ऋण उपसमितिलाई बोलाई हिनामिना छानबिन र बिना धितो ऋण लगानी सुरक्षित गर्ने कामका लागि सहजीकरण गर्न, कोपोमिसको पासवर्ड लिई वित्तीय विवरण अद्यावधिक गर्न लगायतका विषय उल्लेख छ ।
यस्तै, संस्थाका कर्मचारीलाई कार्यालय खोलेर बस्ने वातावरण सिर्जना गर्ने, सुरक्षाको प्रत्याभूतिका लागि प्रहरी र जिल्ला प्रशासन कार्यालयसँग समेत समन्वयको वातावरण सिर्जना गर्न, आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण सम्पन्न गरी साधारण सभा वा विशेष भेला बोलाएर हिनामिना र ऋण असुलीको प्रक्रिया गर्न, समितिले गरेका प्रगति मासिक रूपमा रजिष्ट्रार कार्यालयलाई र नगरपालिकामा पठाउन, संस्था सुधारको अल्पकालीन, मध्यकालिक र दीर्घकालीन कार्य योजना बनाइ सोको मासिक प्रगति समीक्षा गर्न लगायतका निर्देशन दिइएको छ ।
सहकारीको नाममा खरिद गरिएको जग्गा समेत जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
त्यसमध्ये तत्कालीन व्यवस्थापक रुकु जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको सञ्चालक समितिले जनाएको छ ।
प्रकाशित मिति : १५ माघ २०७९, आइतबार ७ : ३७ बजे
प्रतिक्रिया