यस्तो छ आजको विनिमय दर

रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिता : उपाधि रोहिणी–१ लाई

भैरहवा ।  रोहिणी अध्यक्ष कप २०७९ (क्रिकेट प्रतियोगिता)को उपाधि रोहिणी गाउँपालिका वडा नम्बर १ ले जितेको छ । 

शुक्रवार भएको फाइनल खेलमा रोहिणी–२ लाई ४९ रनले पराजित गर्दै रोहिणी–१ ले उपाधि जितेको हो ।

टस जितेर रोहिणी–२ ले बलिङ रोज्यो । सुरुमा ब्याटिङ गरेको रोहिणी–१ ले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै २१९ रन बनायो । उसका लागि धिरुले ८५, अबरारले ४१ र सम्सादले २६ रनको योगदान गरे । बलिङमा रोहिणी–२ का आकाश, विनायक र सई मोहम्मदले २÷२ विकेट लिए ।

जीतका लागि २२० रनको लक्ष्य पाएको रोहिणी–२ ले १६ ओभरमा ९ विकेट गुमाउँदै १७० रन बनायो । उसका लागि कमलले ५८, इन्जमामले ४० र पङ्कजले ३८ रनको योगदान गरे । बलिङमा रोहिणी–१ का धिरुले ३ र अफसरले २ विकेट लिए ।

प्रतियोगिताको म्यान अफ द म्याच धिरु, म्यान द अफ द सिरिज धिरु, बेस्ट ब्याटसम्यान कमलेश र बेस्ट बलर धिरु घोषित भए । प्रतियोगितामा रोहिणी–५ र रोहिणी–६ सेमिफाइनलमा पुगेका थिए ।

नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा गत माघ ३ गतदेखि रोहिणी–३, धकधईस्थित श्री रामनरेश यादव आदर्श नमुना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको थियो ।

प्रतियोगितामा प्रथम (विजेता) हुने टिमलाई रु.६० हजार र उपविजेता (द्वितीय) हुने टिमलाई रु.३० हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताउनुभयो । 

त्यस्तै, सेमिफाइनलमा पुगेका दुई वटा टिमलाई रु.१५÷१५ हजार प्रदान गरिएको कुर्मीले जानकारी दिनुभयो । प्रतियोगितामा गाउँपालिकाका ७ वटा वडाका ७ र एउटा कर्मचारीको टिम गरी ८ वटा टिमको सहभागिता रहेको उहाँले बताउनुभयो ।

विजेता तथा उपविजेता टिमलाई शुक्रवार एक कार्यक्रमकाबीच रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, प्रवक्ता वीर बहादुर क्षेत्री, वडा नम्बर १ का वडा अध्यक्ष आविद अली पठान, रोहिणी–२ का वडा अध्यक्ष करम हुसेन खाँ, गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्रा, महिला तथा बालबालिका शाखा प्रमुख जमुना शर्मा, सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम रेग्मी लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष यादवले क्रिकेट खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग गरेको बताउनुभयो । उहाँले गाउँपालिकाका विभिन्न वडाबाट राम्रो खेलाडी छनौट गरी विभिन्न प्रतियोगिताहरूमा सहभागी गराउने बताउनुभयो । उहाँले रोहिणीमा नमुना खेलमैदान निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : ४० बजे