आन्तरिक हवाई उडानमा अत्यधिक चाप

रास्वपाको कार्यवाहक सभापति र संसदीय दलको नेतामा अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन हुनुभएको छ । 

रास्वपाको शुक्रवार राति बसेको पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको विधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिमा चयन गरेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिनुभयो ।

रास्वपाले पार्टीका संस्थापक सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतबाट शुक्रवार भएको फैसलापछि पार्टीले काम गर्न अर्याललाई सो जिम्मेवारी दिइएको प्रवक्ता ढकालले बताउनुभयो । “कानुनी राज्यको अवधारणा पार्टीको मूल विचार भएकाले न्यायालयको फैसलालाई पार्टीले सदैव सम्मान गर्दछ”, प्रवक्ता डा.ढकालले भन्नुभयो ।

यस्तै, सो पार्टीको शुक्रवारै बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोले रिक्त सो पदमा अर्याललाई चयन गर्ने निर्णय गरेको छ । 

उक्त पार्टीले यस चुनौतीपूर्ण घडीमा पार्टीका सम्पूर्ण सदस्य तथा शुभचिन्तकलाई संयमित रही विधिको र कानुनको सम्मान गर्न अनुरोध गरेको छ । 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ८ : ०६ बजे