टरिगाउँ विमानस्थलमा सीता एयरको परीक्षण उडान

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ । 

शुक्रवार सीता एयरको १९ सिटे ९ ए–एजेएच विमान एयरपोर्टमा अवतरण गरेको हो । सुरुआतमा पश्चिमतर्फबाट र पुनः पूर्वतर्फबाट विमान अवतरण गरेको हो । 

दुवैतर्फबाट विमान अवतरण गर्न सहज नै रहेको क्याप्टेन रवीन्द्र डङ्गोलले बताउनुभयो । “दुवैतर्फबाट अवतरण सहजै छ”, उहाँले भन्नुभयो, “यहाँको समग्र प्रतिवेदन क्याल्कुलेशन गरेर प्रतिवेदन निकाल्छौँ ।”

केही रुख, पानीको ट्याङ्की र आकाशमा चरा धेरै हुँदा समस्या हुने उहाँको भनाइ थियो । “यताउती फोहर धेरै हुनसक्छ, त्यसको नियन्त्रण गरे हुन्छ ।” 

सीता एयरका कर्मचारी राजेन्द्रबहादुर सिंहले अहिले जहाज अवतरणका लागि सहज–असहजका विषयमा परीक्षण गरिएको भन्दै यसको विस्तृत प्रतिवेदन आएपछि मात्रै उडान नियमित हुने बताउनुभयो । अहिले जहाज नियमित नहुँदा यात्रुले पटक–पटक असुविधा पाउने गरेका छन् । त्यसले गर्दा पनि सीता एयरसँग सहकार्य अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो । “समयमा जहाज नआउने, नियमित नआउने समस्या छ”, उहाँले भन्नुभयो, “यसले गर्दा हामीहरू पनि नेपालगञ्ज, भैरहवा जानुपर्ने अवस्था छ, यसको अन्त्य भई हामीले सहज सेवा पाउनुपर्छ भन्ने हो ।” 

हाल नेपाल वायुसेवा निगमको १९ सिटे जहाजले हप्तामा आइतबार, मङ्गलवार, बिहीबार र शनिवार उडान भर्ने गरेको छ । हाल टरिगाउँमै इन्धन डिपो स्थापना भई सञ्चालनमा आइसकेको छ तर भाडा घट्न सकेको छैन। हाल दाङदेखि काठमाडौँको न्यूनतम रु आठ हजार आठ सय दश र काठमाडौँदेखि दाङको भाडा न्यूनतम रु नौ हजार १० रहेको छ । 

निजी विमान सञ्चालन भएसँगै भाडा घट्ने अपेक्षा गरिएको छ । साथै हाल रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तारका लागि पहल भइरहेको छ । उक्त विमानस्थलमा केही समय अघि समिट एयरले पनि उडान भर्ने गरेको थियो । रासस

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ७ : २४ बजे