सुनको मूल्यमा नयाँ कीर्तिमान

काभ्रेलाञ्चोकमा रेबिज नियन्त्रण गर्न खोप अभियान

काभ्रेपलाञ्चोक । काभ्रेलाञ्चोकमा पछिल्लो समय  पशु चौपायामा देखिएको रेबिज रोग नियन्त्रण गर्न खोप अभियानलाई तीव्र पारिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी, पशु चौपाया तथा स्थानीयलाई रेबिजविरुद्धको खोप लगाउन थालेको छ ।

गत मङ्सिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजको सङ्क्रमण देखिएको थियो । त्यसको मण्डनदेउपुरको एउटा वडा तथा रोशी गाउँपालिकामा पनि रेबिज फैलिएको थियो । 

मण्डनदेउपुर–१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज पुष्टि भएको छ । रेबिज देखिएपछि उक्त क्षेत्रका पशु चौपायालाई खोप लगाउन थालिएको  पशु चिकित्सक राजकुमार हुमागाईँले बताउनुभयो । 

मण्डनदेउपुरका केही स्थानमा छ महिनाको अवधिमा २२ गाई मरिसकेका छन् । स्थानीय हरिप्रसाद नेपालका अनुसार माघमा मात्रै दुई गाई मरेका छन् । यस्तै मरेको कुकुरमा रेबिज पुष्टि भएको स्थानका करिब ५० जनालाई रेबिजविरुद्धको खोप लगाइएको छ । थप व्यक्ति पहिचान गरी खोप लगाइने नगरका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले बताउनुभयो । 

उक्त स्थानमा स्थानीय स्तरका स्वास्थ्य शाखा, पशु शाखा, जिल्ला स्वास्थ्य कार्यालय र केन्द्रको विज्ञ टोलीले निगरानी गरिरहेको छ । केही महिनाअघि भुम्लु गाउँपालिकामा रेबिजका कारण पशु चौपायाको मृत्यु भएपछि त्यहाँका पशु चौपाया र दुई सय ८९ जनालाई रेबिजविरुद्धको खोप लगाइएको थियो । 

महाभारत गाउँपालिकामा पनि रेबिजका कारण पशु चौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्धको खोप लगाइएको छ । कुकुरले टोकर मरेका गाई काटेर खाएपछि महाभारत–१ गोकुले र वडा नं ८ को घर्तीछापका स्थानीयलाई रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टले जानकारी दिनुभयो । 

यसैबीच रेबिज सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले महाभारत, मण्डनदेउपुर र रोशीमा रेबिज फैलिएकोबारे अध्ययन भइरहेको बताउनुभयो । 

“खोप अत्यन्तै प्रभावकारी छ, रेबिज लागेपछि र लाग्नुअघि खोप लगाउँदा पूर्ण रूपमा सुरक्षित भइन्छ”, उहाँले भन्नुभयो । रेबिजबाट २०७७ चैत यताका काभ्रेपलाञ्चोकमा छ जनाको मृत्यु भएको छ । चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन । काँचो दूध, मासु खाँदा रेबिज रोग सर्छ । ९९ प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्दछ । कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिज लागेको कुकुरले मान्छे र पशुपक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ ।  रासस 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १० : ३९ बजे