नेपाल वायु सेवा निगमले टिकट बिक्री प्रणाली व्यवस्थापन प्रभावकारी बनाउने

काठमाडौँ । नेपाल वायु सेवा निगमले टिकट बिक्री प्रणाली व्यवस्थापन प्रभावकारी बनाउने भएको छ । 

उक्त प्रयोजनका लागि निगमले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (.नाट्टा)सँग छलफल गर्दै १५ दिनभित्र समस्या समाधान गर्ने गरी कार्यदल गठन गरेको छ । 

निगमको टिकट बिक्री वृद्धि गर्नुका साथै बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनका लागि कार्यदल गठन गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । 

आठ सदस्यीय कार्यदलमा निगमको वाणिज्य निर्देशक जनकराज कालाखेती, अर्थ विभाग निर्देशक उमेश पौडेल, साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन निर्देशक अनिल घिमिरे र वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डे रहनुभएको छ । 

त्यस्तै नाट्टाको तर्फबाट वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल, महासचिव कुमारमणि थपलिया, कोषाध्यक्ष राजकुमार देवकोटा र कार्यसमिति सदस्य सवला भण्डारी रहनुभएको छ । 

‘ग्रोस फेयर्र’, न्यायोचित र सरलीकृत ढङ्गमा टिकटको बिक्री व्यवस्थापन गर्ने, ‘ग्रुप फेयर’, ‘भोइड’ टिकट ‘चार्ज फ्लाईट’ प्रभावकारी बनाउने विषयमा दुवै संस्थाका उच्च पदाधिकारीबीच छलफल भएको थियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले यही माघ ९ गते निगमको मुख्यालयको निरीक्षणका क्रममा आवश्यक निर्देशन दिँदै निगमको सेवालाई सुस्त र प्रभावकारी बनाउँदै एक महिनाभित्र अनलाइन टिकटको व्यवस्थापन गर्न आग्रह गर्नुभएको थियो ।

निगमका प्रवक्ता खड्काका अनुसार आन्तरिकतर्फ यसअघि नै अनलाइन टिकट व्यवस्थापन गरिएको छ । अन्तर्राष्ट्रियमा पनि निगमको वेबसाइटमार्फत अन्तर्राष्ट्रिय कार्ड होल्डरले टिकट काट्न सक्छन् । लोकल वालेटमार्फत टिकट काट्न सक्ने गरी यही जनवरी अन्तिमसम्म व्यवस्थापन  गरिने निगमले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  १० : ३९ बजे